काठमाडौं उपत्यकावासीले विगत तीन महिनामा ७५ दिन अस्वस्थ हावामा सास फेर्न वाध्य भएको देखिएको छ । इसिमोडले गरेको एक समीक्षात्मक अध्ययनले यस्तो देखाएको हो ।
सन् २०२५ मा अत्यधिक प्रदूषण हुनु ‘सामान्य प्रक्रिया’ जस्तो देखिएको जनाउँदै इसिमोडका वैज्ञानिकले पश्चिमी नेपालमा खडेरीका कारण मनसुन शुरु हुनुु अघिको अवधीमा ठूलो स्तरमा बन ढडेलो लागेको कारण प्रदुषण ह्वात्तै बढेको जनाएका छन् ।
हावाको प्रवाह थोरै बढेको कारण शुक्रवार वायु प्रदुषणको स्तरमा केही सुधार आएपनि यो साताभर वायु प्रदूषण भक्तपुर, शंखपार्क, रत्नपार्क, भैंसीपाटी, खुमलटार लगायतका क्षेत्रमा वायु गुणस्तर सुचकांक(एक्यूआई) २५० हो हाराहारीमा रहेको थियो । उच्च वायु प्रदूषणका कारण सर्वसाधारणलाई आँखा पोल्ने, खोकी लाग्ने, घाँटी खसखस हुने लगायत श्वासप्रश्वासजन्य रोगीहरु बढेको विभिन्न अस्पतालहरुले जनाएका छन् ।
इसिमोडका वायु प्रदूषण विश्लेषक सागर अधिकारीका अनुसार पानी नपरेको कारण हालको सुख्खा अवस्थाले देशभरि वन डढेलोका घटनाहरू बढेका छन् । सार्वजनिक यातायात क्षेत्रले गर्ने उत्सर्जन, सडक धुलो लगायतका अन्य कारणले हुने उत्सर्जनलाई वन डढेलोले काठमाडौं उपत्यकाको प्रदूषणलाई झनै खराब बनाएको अधिकारी बताउछन् ।
वन डढेलो लाग्दा कार्बन मोनोअक्साइड, अत्यन्त सुक्ष्म कणहरु अर्थात् पिएम २.५ लगायत कालो कार्बन उत्सर्जन हुने गर्दछ । वायु प्रदूषणका जिम्मेवार मानिने यी सुक्ष्म कणहरू श्वासप्रश्वासमार्फत् मानिसको रक्तप्रवाहमा सिधा प्रवेश गर्न सक्छन् । यिनै बिषाक्त कणहरुको कारण श्वासप्रश्वासको समस्या देखि मानिसको मृत्यु समेत निम्तिन सक्छ ।
त्रिभुवन विश्वविद्यालयको पाटन बहुमुखी क्याम्पसका सहायक प्राध्यापक नारायणबाबु धितालका अनुसार वन डढेलाले हुने मृत्युदर ठयाक्कै यति हो भनेर यकिन नभएकाले यसका लागि तथ्यांक संकलन गर्न आवश्यक छ ।
‘सन् २०१९ मा पिएम २.५ जस्ता सुक्ष्म कणहरुले नेपालमा कुल ४८ हजारको मृत्यु भएको थियो । हामीले अध्ययनलाई विश्लेषण गर्ने क्रममा ग्लोबल बर्डन अफ डिजिजका द्वितीय तथ्यांकलाई हेरेका थियौ,’ उनी थप्छन् ।
वन जंगलमा हुने आगलागीबाट उत्सर्जित कालो कार्बन वा धुँवालाई जलवायु परिवर्तनको कारक समेत मानिन्छ । यसले हिन्दूकुश हिमालय क्षेत्रमा रहेका जलवायु प्रणालीलाई समेत प्रभाव पार्ने क्षमता राख्दछ ।
क्लिन एयर फन्डले हालै जारी गरेको एक अध्ययन प्रतिवेदनका अनुसार कालो कार्बनले हिमनदी पग्लने गतिलाई तीब्र पार्न र मनसुनको नियमित प्रक्रियालाई समेत परिवर्तन गर्न सक्दछ ।
‘हामीलाई थाहा छ कि हिन्दुकुश हिमालयमा हिमनदी पग्लिनमा कालो कार्बनले उल्लेखनीय योगदान पु¥याएको छ । केही क्षेत्रमा त यो प्रदूषकका कारण ३९ प्रतिशतसम्म हिउँ पग्लिएको पाइएको छ । कालो कार्बन उत्सर्जनलाई सम्बोधन गर्न समन्वित, वहुक्षेत्रीय दृष्टिकोण आवश्यक छ,’ इसिमोडका अर्का वायु प्रदुषण विश्लेषक खुश्वु शर्मा भन्छिन् ।
‘यो गर्न सकेमा हाम्रा हिमनदीहरू मात्र सुरक्षित हुदैनन, यस क्षेत्रका लाखौं मानिसहरूको लागि सफा हावा सुनिश्चित हुन्छ,’ शर्मा भन्छिन् ।
विशेषगरी वालीनाली थन्क्याएपछि बाँकी रहेका कृषि अवशेषहरु जलाउँदा निस्कने धुँवा र वन ढडेलोको कारण निस्कने धुँवाका कारण नेपालमा माघ, फागुन, चैत र वैशाख महिनामा प्रदूषण ह्वात्तै बढ्ने गरेको पाइन्छ ।
नेपालको वातावरण विभाग र अन्य निकायहरुको सक्रियतामा देशका विभिन्न स्थानमा स्थापना गरिएको वायु गुणस्तर मापन केन्द्रहरुले देशव्यापी रुपमा प्रदूषणका हिसाबले ‘हटस्पटहरू’ पत्ता लगाउन सहज पारेको वैज्ञानिक ठान्छन् ।
विश्वव्यापी रुपमा भैरहेको तापक्रम वृद्धिलाई सीमित गर्न लागि कार्बन उत्सर्जन कटौती गर्ने प्रयाशलाई प्रभावकारी पार्न एकातिर आवश्यक छ भने अर्काेतिर बन डढेलो निगरानी प्रणाली, दिगो भूमि व्यवश्थापन सहितको योजनाले भविश्यमा वायु प्रदुषण रोक्न सहयोगी हुने इसिमोडको वैज्ञानिकले बताएका छन् ।
प्रकाशित: २२ चैत्र २०८१ १८:४० शुक्रबार