१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

नमोबुद्ध र धुलिखेलको आफ्नै नगरगान

काभ्रेपलाञ्चोक- नमोबुद्ध र धुलिखेल नगरपालिकाले आफ्नै नगरगान बनाएका छन्। पाँचखाल नगरपालिका पनि आफ्नै गान बनाउने तयारीमा जुटेको छ।     
     
हामी पौरखी नगरबासी, हामी बनाउँछौँ हाम्रो नगर     
शिक्षा, स्वास्थ्य, सुशासन हाम्रो चाहना हो ।     
कला, धर्म र संस्कृति, हाम्रो गहना हो     
हामी बोल्छौँ सत्य, हाम्रो मन छ शुद्ध,     
हाम्रो नगर नमोबुद्ध, राम्रो नगर नमोबुद्ध ।।     
     
विगत दुई वर्षदेखि नमोबुद्धले आफ्ना हरेक कार्यक्रमको शुरुआतमा आफ्नो नगर गान बजाउँदै आएको छ। गत वर्षको भदौदेखि नगरगान बजाउन थालिएको हो। छ मिनेट २५ सेकेण्डको नगरगान (भिडियो) मा नगरवासी पौरखी भएकाले आफ्नो नगर आफैँ बनाउने र शुद्ध मन भएका नगरवासीले सत्यपूर्वक शिक्षा, स्वास्थ्य, सुशासनमा रही स्थानीय कला, धर्म र संस्कृतिलाई गहना बनाएको छ।     
     
नगरप्रमुखमा पदबहाली भएपछि नगरगानको आवश्यकता महसुस गरी शुरुमै निर्माण गरिएको नगरप्रमुख टङ्कप्रसाद शर्माले बताए। 'ऐतिहासिक दाप्चा शहर र ऐतिहासिक नमोबुद्ध पर्यटकीयस्थल एवं प्रकृतिको धनी छौँ हामी, यी सबैलाई नगरगानमा समेटेका छौ', उनले भने।

उनका अनुसार ऐतिहासिक पलाञ्चोक भगवतीको माइतीका रुपमा परिचित देवीस्थान र धार्मिक दृष्टिले परिचित काँसीखण्ड पनि यही नगरमा पर्दछन्। उक्त नगरगान देशविदेशमा रहेकाले सुन्न र हेर्नका लागि यू–ट्युबका पनि अपलोड गरिएको छ।    

नमोबुद्धको नगरगान नगरवासीले समय–समयमा आफैँ बजाएर सुन्ने पनि गरेका छन्। 'हाम्रो नगरगान निकै रमाइलो र प्यारो लाग्छ, त्यसैले बेला–बेलामा सुनिरहन्छु', भकुण्डेका किशोर तिमल्सिनाले भने। संस्कृतिविद् सत्यमोहन जोशीले विसं २०७४ भदौमा एक कार्यक्रमका बीच उक्त नगरगानको विमोचन गरेका हुन्।    
     
यस्तै, धुलिखेलले भने आफ्नो नगरगान बनाएको नौ वर्ष भइसक्यो। चार मिनेटको नगरगानमा धुलिखेलले आफ्नो ऐतिहासिकस्थल र पर्यटकीयस्थललाई समेटेको छ।     
     
स्वागत छ है पाहुनालाई     
समृद्ध धुलिखेल घुम्नलाई     
शिक्षा, स्वास्थ्य।।।।     
     
'हाम्रो कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले करीब नौ वर्षदेखि यो नगरगान बजाउँदै आइएको छ', नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले भने। उनले नगरगानलाई केही परिमार्जित गर्न नगरवासीबाटै लिखितरूपमा माग आएको बताए। उनले भने, 'प्रस्ताव आउनेक्रम जारी छ, अब सर्टिङ गरी छनोटको प्रक्रियामा जानेछौँ।'    
     
धुलिखेल आफैँमा पर्यटकीय नगर हो। धुलिखेलको प्राकृतिक सुन्दरता, उत्तरतर्फका हिमालय पर्वत शृङ्खला सजिलै नियाल्न सकिन्छ भने र सुविधाजनक होटल तथा मनोरक दृश्यका कारण निकै चर्चित बनेको र यी विषयलाई परिमार्जित गीतमा थप समेटिने नगरप्रमुख श्रेष्ठले बताए।     
     
पाँचखालले पनि हाल आफ्नै नगरगान बनाउने योजना बनाएको छ। 'हामी अहिले आफ्नै नगरगान बनाउने विषयमा छलफलमा जुटेका छौँ', नगर उपप्रमुख लक्ष्मी दनुवारले भनिन्। उनका अनुसार स्थानीय धार्मिकस्थल, पर्यटकीयस्थल र कृषिलाई जोड दिएर नगरगान (अडियो/भिडियो) निर्माण गरिनेछ। रासस   
 

प्रकाशित: १४ आश्विन २०७६ ०५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App