१३ वैशाख २०८२ शनिबार
image/svg+xml १४:१३ अपराह्न
राजनीति

सुशासन र चुस्त सेवा प्रवाह समृद्धिको पहिलो आधार : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो आवश्यकता भएको बताएका छन्। 

नयाँ वर्ष २०८२ को शुभकामना सन्देशमा उनले जनताको चाहना पूरा गर्ने सङ्कल्प गर्न आग्रह गरे। ‘आज राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र साझा सङ्कल्प लिएर अघि बढ्न म सबैलाई अपिल गर्छु,’ उनले जारी गरेकाे शुभकामना सन्देशमा भनिएकाे छ।

विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् हो। यो संवत्ले नेपालको सभ्यता, सामाजिक जीवन र परम्परालाई प्रतिनिधित्व गर्छ। यो गौरवमय विगत सम्झाउँदै उन्नत भविष्यतिर प्रेरित गर्ने विश्वास उनकाे छ।

‘नयाँ वर्षमा हामी विगतको समीक्षा गर्छौँ र आगामी दिनका लागि सङ्कल्प गर्छौँ,’ उनले भने, ‘यो हाम्रा साझा राष्ट्रिय लक्ष्य बनाउने र प्राप्त गर्न सङ्कल्प गर्ने दिन हो।’

राष्ट्रपति पौडेलले ठूलो राजनीतिक परिवर्तनपछि जनताको आकाङ्क्षा पूरा गर्न भएको ढिलाइ र कमजोरीलाई लिएर भ्रम फैलाउने प्रयासहरू बिस्तारै कम हुँदै जाने विश्वास व्यक्त गरेका छन्। 

प्रविधिमैत्री विश्वमा प्रविधिको प्रयोगलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको तर्क छ। कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगलाई अर्थतन्त्रको आधार मानेर उनले यी क्षेत्रका समस्या हटाई उपयुक्त नीति, कानुन र अवसर बनाएर समृद्ध राष्ट्र निर्माणको सङ्कल्प गर्न आग्रह गरे। 

‘आजको दिनले हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र नागरिकलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बन्न प्रेरित गर्छ भन्ने मेरो विश्वास छ,’ उनले भनेका छन्। रासस

प्रकाशित: १ वैशाख २०८२ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App