८२ वर्षीय रामप्रीत यादवको इतिहास गर्विलो छ। संरक्षण क्षेत्रमा आफ्नो पूरा जीवन बिताएका यादव चितवन राष्ट्रिय निकुञ्ज स्थापनाका एक सदस्य हुन्। प्रमुख संरक्षण अधिकृत भएर देशका विभिन्न निकुञ्ज तथा आरक्ष पुगेका यादवले २७ वर्ष चितवन राष्ट्रिय निकुञ्जमै बिताए। अझै पनि उनी वन, वन्यजन्तु संरक्षणमा लागि परिरहेका छन्।
नेपालजस्तो गरीब मुलुकमा वन–संरक्षण जनचेतना शून्य जस्तै थियो। लाखौँ मानिसहरू वनमै आश्रित थिए। उनीहरूलाई त्यसबाट हटाएर निकुञ्ज स्थापना गर्न सजिलो थिएन। अझ फिल्ड स्तरमा काम गर्नु अत्यन्त कठिन थियो। नेपालको पहिलो निकुञ्ज स्थापना गर्न लागिपरेका रामप्रीत जनताको घेरामा कयौँ पटक परे। यद्यपि उनी संरक्षणमै खटिरहे।
संरक्षण क्षेत्रमा लागेका रामप्रीतको जीवन भनेकै प्रकृति हो। उनलाई जंगल, गैँडा, बाघ, गोही आफ्नो घरका सदस्यजस्तै लाग्छन्। उनले नारा नै बनाएका छन्, ‘नो लाइफ विद्आउट वाइल्डलाइफ।’ उनको संघर्षका कारण पछिल्लो समयमा समुदाय पनि संरक्षणमा लागेका छन्। उनले नै नामाकरण गरेको निकुञ्ज घुम्न देश विदेशबाट पर्यटकहरू आउने गर्दछन्। त्यो देखेर अधिकांश मानिस खुशी छन्। अहिले निकुञ्जमा जंगली जनावर बढिरहेका छन्।
सिरहामा जन्मिएका रामप्रीत एउटा भाग्यमानी पात्र समेत हुन्। चार दाजुभाइमध्ये माइला रामप्रीतले पढ्ने अवसर पाए। त्यतिखेर पढ्ने चलन निकै कम थियो। नजिकै स्कूल नभएकाले गुरुको घरमा गएर पढ्न थाले। उनी भन्छन्, ‘गुरुजीसँग कलम पनि हुन्थेन। कालो माटो घोलेर काठमा लेख्ने चलन थियो।’ त्यो समयमा एसएलसी दिने मानिसहरू हातका औँलामा गन्न सकिन्थ्यो। एसएलसीको परीक्षा पनि भारतमा दिनुपथ्र्यो। २०१७ सालमा यादवले एलएलसी पास गरिसकेपछि काठमाडौँको त्रिचन्द्र कलेजमा आइएस्सीमा भर्ना लिए।
पछि हेटौँडास्थित नेपाल फरेस्ट्री इन्टिच्यूटबाट रेञ्जर कोर्स गरे। प्रकृतिप्रेमी रामप्रीत २०२५ सालमा रेञ्जर भएर इलाममा काम गरे। त्यतिखेर इलाम पुग्न सजिलो थिएन। उनी भारतको जयनगर हुँदै रेल चढेर दार्जलिङ पुगे। त्यहाँबाट इलाम ! ‘त्यतिखेर नेपालबाट इलाम जान सकिँदैनथ्यो। बाटा बनेका थिएनन्। भारत नपुगी हुँदैन्थ्यो,’ उनले भने, ‘अहिले त बाटाघाटा बनेकाले एकैदिनमा इलाम पुगिन्छ।’
चितवन राष्ट्रिय निकुञ्ज स्थापनाको यात्रा
इलाममा एक वर्ष सबेपछि २०२६ सालमा पर्साको ठोरीमा पुगे। त्यसलगत्तै उनी मकवानपुरको हेटौँडा आए। २०२७ सालमा काठमाडौँमा निकुञ्ज स्थापनाका लागि विश्वनाथ उप्रेतीको नेतृत्वमा सर्वे टोली गठन भयो। उप्रेतीका साथमा कर्ण शाक्य, रामप्रीत यादव पनि सदस्यका रूपमा थपिए। पार्क कन्सल्ट्यान्टका रूपमा बेलायती नागरिक जोन ब्लोरले सघाए। मकवानपुरको भीमफेदीमा वन विभागको डिमार्केशन कोर्ष गरेका रामप्रीत फिल्ड सहयोगीका रूपमा सदस्यमा थपिएका हुन्।
हेटौँडाबाट चितवन आउन पनि सडक नभएकाले उनीहरू हिँडेर नै मकवानपुरबाट सिमाङ्कन गर्न सौराहा पुगे। त्यतिखेर गैँडाचोक नजिक एउटा चिया पसल थियो। त्यहाँ इँटाको एउटै घर थियो। अरू घरहरू घाँसपातले छाएको देखिन्थे। सीमाङ्कन गर्न आएका रामप्रीत पहिलो रातको अवस्था बारे भन्छन्, ‘हामी बाहिर पाल टाँसेर रात बिताइयो। जंगली जनावरको डरले सुत्नै सकिनँ।’
सीमाङ्कनका क्रममा चुरेका डाँडा, ठाँटी, घनघोर जंगल लगायतका स्थान जहाँ पुगिन्छ, त्यहीँ पाल टाँगेर बास बसे। करीव डेढ वर्ष लगाएर उनीहरूले उत्तरी सिमाना राप्ती, पश्चिमी नारायणी, पूर्व नेपाल भारत सीमा ठोरी पैरेवा, दक्षिण माडीसम्म निकुञ्जको सीमा कायम गरे।
‘यस क्षेत्रमा लाखौँ मानिसहरू आश्रित थिए। दूध, दही, घिउको छेलोखेलो हुन्थ्यो,’ विगतका कुरा सम्झँदै उनी भन्छन्, ‘गाउँले नै उल्टिएर माछा मार्न खोला–खोलामा आउँथे।’
हाल कायम भएको निकुञ्जभित्र ठूलो बस्ती थियो। पुरानो पदमपुर, हाल घाँसेमैदान रहेको पूर्वको पन्नापनि, जबका, जगधारी, डुमरिया, भिमले, सुखिभार क्षेत्रमा बाक्लो बस्ती थियो। त्यो ठाउँ अहिले घाँसेमैदान छ।
विसं २०२७ देखि २०२८ को बीचमा सर्भे सकियो। २०२९ सालमा ऐन बन्यो। २०३० सालमा नेपालकै पहिलो राष्ट्रिय निकुञ्जका रूपमा यसलाई घोषणा गरियो। निकुञ्जको पहिलो वार्डेन प्रमुख संरक्षण अधिकृत तीर्थमान मास्के बने भने रामप्रीत रेञ्जर रहे।
जनतामा संरक्षणको चेतना नरहेका बेला रेञ्जर बनेका रामप्रीत कार्यालय स्थापना गर्न समेत कठिन भएको बताउँछन्। सन् १९३९ मै बनेको नेपालकै पहिलो कंक्रिट भवन रहेको कसरामा निकुञ्जको कार्यालय राखियो। त्यो भवन बेलायती सम्राट जर्ज छैटौँका लागि बनेको हिन्टन प्यालेस थियो। त्यो भवन अझै पनि छ। संरक्षणका लागि कर्मचारी न्यून थिए। ऐन बनेपछि दरबन्दी थप गरियो। २०३२ सालदेखि निकुञ्जको सुरक्षाका लागि सेना खटाउन थालियो। त्यसपछि संरक्षणमा केही सहज हुन थालेको उनी बताउँछन्। त्यतिखेर सारा निकुञ्जको सुरक्षा जम्मा ३४ जना सेनाले गर्थे। अहिले भने एक बटालियन नै सुरक्षामा खटिएको छ। राणाहरूले आफूहरूले शिकार गरेपनि अरूलाई गर्न नदिन कर्णेलको नेतृत्वमा गैँडा गस्ती गठन गरेर टिकौलीमा कार्यालय राखेका थिए।
आर्मी राख्दा पनि संरक्षणमा चुनौती नै थियो। निकुञ्जमा चितवन, नवलपरासी, पर्सा र मकवानपुरका लाखौँ मानिसहरू आश्रित थिए। घाँस दाउरा गर्न जंगल नगई नहुने बाध्यतामा उनीहरू थिए।
पन्ध्र वर्षसम्म स्थानीयसँग भिडन्त भइरह्यो,’ उनले भने, ‘हामीले वस्तुभाऊ लखेटिदिने, हँसिया खोसिदिन थाल्यौँ। उनीहरूमा संरक्षणको चेतना नभएकाले हामीलाई घेर्न आउँथे। कतिपटक ज्यान जोगाएर भाग्नुपथ्र्यो।’ निकुञ्ज स्थापनाअघि सयभन्दा कम गैँडा र १५ वटा बाघ थियो। पछिल्लो गणना अनुसार यहाँ ६९४ गैँडा र १२८ बाघ छन्। ‘विगतमा वन ज्यादै कमजोर अवस्थामा थियो,’ उनी सम्झन्छन्, ‘अहिले ज्यादै राम्रो अवस्थामा छ।’
२०३५ सालमा साहायक वार्डेन भएका रामप्रीत तीर्थमान मास्केपछि २०४२ सालमा वार्डेन भए। खासमा रामप्रीतको सम्पूर्ण परिचय संरक्षण शिक्षामै छ। पहिले राष्ट्रिय निकुञ्जको विरोध गर्नेहरू निकुञ्ज भएकोमा खुशी व्यक्त गर्दछन्। ‘सिकारीले त हामीलाई कहिल्यै रुचाउँदैनथे। समुदायले पनि रुचाएनन्। नेताहरू नै आएर गैँडा ठूलो कि मान्छे ठूलो भन्दै दबाव दिन आउँथे,’ उनले भने।
कानूनमा गैँडा मार्नेलाई पाँच हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना र पाँचदेखि १५ वर्ष जेल सजाय तोकिएको थियो। उनले जहिल्यै एक लाख जरिवाना र १५ वर्ष जेल तोके। त्यही कडाइका कारण समाजमा वन्यजन्तुप्रतिको सम्मान बढेको उनको बुझाइ छ। २०३४ सालमा स्थापना भएको कसरामा घडियाल प्रोजेक्ट ‘ए टू जेड’ उनकै सपना हो। नारायणीका घडियाल अहिले राप्तीमा समेत छन्। घडियाल माछा खाने र सफा बगुवा पानीमा बस्ने जलचर हो। संरक्षणकै चिन्ताका कारण उनी दशैँ मनाउन घरसमेत जाँदैनथिए।
उनी जुन दिनदेखि यहाँ आए, सौराहा उनको सबैभन्दा प्रिय स्थल बन्यो। उनी भन्छन्, ‘सौराहा यति भव्य होला भनेर सोचेको थिइनँ। त्यही पुराना घर छाप्रा मात्र थिए। अहिले ठूल्ठूला घर र गैँडा, बाघलाई हेर्न आउने पर्यटक देखेर दङ्ग छु।’ अहिले सौराहामा हात्ती सफारी, डुंगा शयर, जिप सफारी लगायतका गतिविधि हुने गर्दछन्। यहाँ सयौँको संख्यामा होटल खोलिएका छन्। उनी रेञ्जर, साहायक वार्डेन र वार्डेन भएर कसरामा २७ वर्ष बसे। त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच वर्ष, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई वर्ष, पर्सा राष्ट्रिय निकुञ्जमा डेढ वर्ष प्रमुख संरक्षण अधिकृत भएर बिताए। २०५८ सालमा पर्सा राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतको रूपमा काम गर्दागर्दै अवकाश प्राप्त गरे।
अवकाशपछि उनले सिराहा जान चाहेनन्। उनले स्थायी बसोबासका लागि चितवन नै रोजे। दाजुभाइ सिराहा बसे पनि उनले भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुरमा घर बनाए। २०२७ सालका चितवन र अहिलेको चितवनमा धेरै परिवर्तन भएको उनी बताउँछन्। ‘चितवनमा पातलो बस्ती थियो। सन् १९५० मा मलेरियाविरुद्ध डीडीटी छर्किएपछि बाहिरियाको आगमन बढ्यो,’ उनले भने, ‘एक रुपियाँको टिकट टाँसेर पाँच बिघा जग्गा सित्तैमा पाउने भएपछि यहाँ मानिसहरूको आवागमन बढ्यो।’ त्यसभन्दा अगाडि चितवनमा थारु, बोटे, कुमाल समुदायको मात्र बसोबास थियो। मानिसहरूको आगागमनसँगै चितवनमा फ्याउरा र सर्पहरू लोप हुँदै गए। उनले भने, ‘अहिले फ्याउरा पाउन त मुश्किल छ। सर्पपनि त्यति देखिँदैन। स्यालसम्म देखिन्छ।’
१९ वर्षको उमेरमा सिराहमा विहे गरेका उनका दुई छोरा छन्। कान्छा छोरा अहिले पढ्न क्यानडा गएका छन्। जेठा सिरहामै खेतीपातीमा छन्। अवकाशपछि पनि संरक्षण शिक्षामा २० वर्ष निरन्तर लागिरहेका उनको स्वास्थ्य अवस्थाका कारण घरबाहिर कम निस्कन्छन्।
अझै पनि उनी चिन्ता गर्दै थप्छन्, ‘कतिपय वन्यजन्तु लोप भएका छन्। उनीहरू अब कहिल्यै फर्केर आउने छैनन्। भावि सन्ततिले अब ती वन्यजन्तु कहिल्यै देख्न पाउने छैनन्। त्यसैले अहिले जे जति छन्, तिनलाई संरक्षण गर्नु जरुरी छ। तब मात्र हाम्रा सन्ततिले ती संरक्षित वन्यजन्तु देख्न पाउने छन्। उनीहरूले हामीकहाँ यस्तो थियो रे भन्नुपर्ने छैन।’
प्रकाशित: १३ वैशाख २०८२ १३:४४ शनिबार





