१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

तमोर-५ जलविद्युत आयोजनाद्धारा ताम्मावा-फेम्बु जोड्ने बेलिब्रिज निर्माण सम्पन्न

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ६ मा रहेको तमोर–५ जलविद्युत आयोजनाले फक्ताङलुङ गाउँपालिका वडा नं. ५ तापेथोक र वडा नं. ६ लेलेप जोड्ने बेलिब्रिज निर्माण सम्पन्न गरेको छ। 

फक्ताङलुङ गाउँपालिका वडा नं. ५ तापेथोकका दीपक लिम्बूले ताम्मावा र फेम्बु जोड्ने तमोर नदीमाथिको बेलिब्रिज निर्माण पूरा भएको बताए। ‘अब यातायात पनि सहज हुनेभयो,’ लिम्बूले भने। ३७.५ मेगावाट क्षमताको तमोर–५ जलविद्युत आयोजना रिभर साइड हाइड्रो इनर्जी प्रालिले प्रवर्द्धन गरेको हो। तमोर–५ को तल्लो तटीय क्षेत्रमा २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माणाधीन छ।

तमोर–५ जलविद्युत आयोजना फक्ताङलुङ गाउँपालिकाको वडा नं. ६ मा तमोर नदीको दायाँ किनारमा अवस्थित छ। यो आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको हो। आयोजनाको डिजाइन डिस्चार्ज ५५ घनमिटर प्रतिसेकेन्ड, ग्रस हेड ८० मिटर र नेट हेड ७७.०९ मिटर छ। आयोजनाको वार्षिक ऊर्जा उत्पादन २१९.६१३ गिगावाट आवर छ, जसमा वर्षायाममा १५४.६७४ गिगावाट आवर र सुख्खायाममा ६४.९३९ गिगावाट आवर उत्पादन हुन्छ। आयोजनामा प्रयोग हुने बाँध र टर्बाइन समुद्री सतहबाट १ हजार ५०८ देखि १ हजार ४२४ मिटर उचाइमा रहने छन्।

आयोजनाबाट उत्पादित विद्युत २६ किलोमिटर लामो प्रसारण लाइनमार्फत तमोर–५ को विद्युतगृहबाट १३२ केभीए प्रसारण लाइन हुँदै ढुंगेसाँघु सबस्टेशनमा जोडिनेछ। आयोजनाको बाँधस्थल तमोर नदी र सिम्बुवाखोला दोभानबाट करिब ५०० मिटर उत्तरतर्फ छ। 

विद्युतगृह तमोर नदी र सिम्बुवाखोला संगमबाट करिब १ हजार ५०० मिटरमा अवस्थित छ। तमोर–५ मा १ हजार ७८४ मिटर लामो सुरुङमार्ग हुनेछ। वातावरणीय सम्भाव्यता अध्ययन (२०७६ मंसिर) मा आयोजनाको कुल लागत प्रतिमेगावाट १ हजार ४८३ मिलियन नेपाली रुपैयाँ हुने अनुमान थियो। हाल लागत अनुमानमा केही तलमाथि हुन सक्छ।

प्रकाशित: १३ वैशाख २०८२ १४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App