२४ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

सुर्खेतमा चाडपर्व लक्षित अनुगमन, म्याद गुज्रेका सामग्री नष्ट

दसैँ तिहार र छठ पर्व नजिकिएसँगै सुर्खेतका बजारमा अनुगमन तीव्र पारिएको छ। चाडपर्वको मौका छोपेर उपभोक्तालाई म्याद गुज्रेका, गुणस्तरहीन र अखाद्य वस्तु बिक्री गर्ने प्रवृत्ति रोक्न गरिएको अनुगमनका क्रममा सिम्ता, लेकबेंसी र गुर्भाकोट नगरपालिकाका मुख्य मुख्य बजारमा अनुगमन थालिएको हो।

बजार अनुगमनका क्रममा मूल्यका म्याद गुज्रेका खाद्यवस्तु, बीउ बिजन तथा औषधिजन्य सामग्री जफत गरी नष्ट गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय सुर्खेतको अगुवाइमा दुई हप्ताअघि देखि सिम्ता, लेकबेंसी नगरपालिका र गुर्भाकोट नगरपालिकाका विभिन्न बजारमा गरिएको संयुक्त अनुगमनका क्रममा म्याद गुज्रेका तेल, मिठाई, दाल, खाद्यान्न, जुस, हलुका पेय पदार्थ, घिउ, सुजी, मसला तथा कृषि र पशुपन्छीसम्बन्धी बीउ बिजन र औषधिजन्य सामग्री फेला परेका हुन्।

लेकबेंसी नगरपालिकाका गङ्गटे र दशरथपुर बजारमा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा दाल तथा अन्य खाद्य सामग्री जफत गरी नष्ट गरिएको छ।

तीमध्ये म्याद गुज्रेका तेल, मिठाई तथा कृत्रिम रङ प्रयोग गरिएका खाद्य सामग्रीसमेत रहेका थिए। त्यस्तै, म्याद गुज्रेका कृषि तथा पशुपन्छीसम्बन्धी बीउ बिजन र औषधिजन्य सामग्री पनि फेला परेका थिए।

अनुगमन टोलीले बरामद सामग्रीको मुचुल्का तयार गरी सम्बन्धित व्यक्तिहरूको रोहवरमा खाली जग्गामा खाल्डो खनेर नष्ट गरेको जनाएको छ।

यसैगरी, गुर्भाकोट नगरपालिकाको आयोजना तथा सुर्खेतका जिल्ला प्रशासन कार्यालयको अगुवाईमा मेहेलकुना बजारमा पनि संयुक्त बजार अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा म्याद गुज्रेका खाद्यान्न, जुस, हलुका पेय पदार्थ, घिउ, तेल, सुजी, मसला लगायतका सामग्री जफत गरिएको थियो। बरामद सामग्री गुर्भाकोट नगरपालिकाको खाली जग्गामा खाल्डो खनेर नष्ट गरिएको छ।

मेहेलकुना बजारमा गरिएको अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत, गुर्भाकोट नगरपालिकाको उद्योग शाखाका कर्मचारी, इलाका प्रशासन कार्यालयका प्रतिनिधि, नेपाल प्रहरी तथा पत्रकार सहभागी थिए।

दुई नगरपालिकामा गरेर धन्नै ५० हजार बरावरको म्याद गुज्रेका सामाग्रीहरू नष्ट गरिएको थियो।

दसैँ, तिहार र छठजस्ता ठुला चाडपर्वमा बजारमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले उपभोक्ता ठगिने, म्याद गुज्रेका सामग्री बिक्री हुने र कृत्रिम रङ प्रयोग गरिएका खाद्यवस्तु बजारमा पुग्ने जोखिमलाई ध्यानमा राखेर अनुगमनलाई तीव्र पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

चाडपर्वका बेला उपभोक्ताले गुणस्तरीय वस्तु उचित मूल्यमा सहज रूपमा खरिद गर्न पाउने वातावरण बनाउन बजार अनुगमनलाई निरन्तरता दिइएको हो।

अनुगमनका क्रममा म्याद गुज्रेका वस्तु फेला पर्नुले बजारमा उपभोग्य सामग्रीको गुणस्तर र म्यादसम्बन्धी नियमित निगरानी आवश्यक रहेको देखाएको छ।

सुर्खेतमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रहे पनि अनुगमनमा प्रभावकारी देखिएको छैन। चाडपर्वमा मात्र अनुगमन गर्ने परिपाटी अन्त्य हुनुपर्ने र वर्ष दिन भरी समय मिलाएर अनुगमन हुनुपर्ने उपभोक्ताहरूको भनाई छ।

उपभोक्ताले सामान खरिद गर्दा उत्पादन तथा उपभोग्य मिति, मूल्य सूची, प्याकेटको अवस्था र खाद्य सामग्रीको गुणस्तरमा ध्यान दिनुपर्ने देखिन्छ। 

प्रकाशित: २३ आश्विन २०८३ १३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App