१० पुस २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कश्मीर विवाद १५ सय वर्ष पुरानो, दुवै देशले शान्तिपूर्ण समाधान खोज्ने ट्रम्पको आशा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमण र भारत-पाकिस्तानबीचको बढ्दो तनावबारे फेरि बयान दिएका छन्। उनले कश्मीर मुद्दालाई ‘हजारौं वर्ष पुरानो’ भन्दै दुवै देशले यसको समाधान खोज्नेमा विश्वास व्यक्त गरेका छन्।

ट्रम्पले भने, ‘म भारत र पाकिस्तान दुवैसँग नजिक छु। कश्मीरको लागि उनीहरूले हजारौं वर्षदेखि लडाइँ गरिरहेका छन्। यो मुद्दा सायद त्योभन्दा पनि पुरानो छ। पहलगाममा भएको आक्रमण निकै दुखद थियो। जम्मू-कश्मीर सीमामा १५ सय वर्षदेखि तनाव कायम छ, तर मलाई विश्वास छ, दुवै देशका नेताहरूले कुनै न कुनै रूपमा यसलाई समाधान गर्नेछन्।’ 

उनले थपे, ‘म दुवै देशका नेताहरूलाई चिन्छु। भारत र पाकिस्तानबीच तनाव सधैं रहँदै आएको छ, तर यो अवस्था नयाँ होइन।’ पहलगामको बैसरण उपत्यकामा गत मंगलबार भएको आतंकवादी आक्रमणमा २८ जना पर्यटकको ज्यान गएको थियो।

यस घटनापछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। भारतले सिन्धु जल सम्झौता निलम्बन गरेको छ। अटारी-वाघा सीमा नाका बन्द गरिएको छ। भारतले पाकिस्तानी नागरिकका लागि सार्क भिसा छुट समेत रद्द गरेको छ। जवाफमा, पाकिस्तानले पनि पानी रोक्ने कदमलाई युद्धका रुपमा लिएको बताउँदै हवाई उडान र व्यापार स्थगित गरेको छ। 

कश्मीर विवाद सन् १९४७ मा दुई सय वर्षको बेलायती शासनबाट स्वतन्त्र भएर भारत र पाकिस्तानको विभाजनसँगै सुरु भएको हो। त्यसयता कश्मीरलाई लिएर दुवै देशबीच दुई ठूला युद्ध भइसकेका छन्।

ट्रम्पको यो भनाइले कश्मीर मुद्दाको ऐतिहासिक जटिलतालाई गलत रूपमा प्रस्तुत गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना पनि भएको छ। कतिपयले उनको ‘१५ सय वर्ष पुरानो तनाव’ भन्ने भनाइलाई तथ्यहीन भनेका छन्।

प्रकाशित: १३ वैशाख २०८२ १३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App