नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नहुने बताएका छन्। केन्द्रीय कार्यसम्पाद समिति बैठकमा सम्बोधन गर्दै उनले नयाँ अनुहारहरुलाई मौका दिन आफू उम्मेदवार नहुने जानकारी गराएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले भने, 'लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु । गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ । यो पटक देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरुको साथमा पुग्नेछु ।'
महामन्त्री शर्माले हिजो बुधबारमात्रै आफू आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर एकमा रहेको जानकारी दिँदै क्षेत्रीय भेलामा को उम्मेदवार बन्ने हो दाबी गरेर अगाडी आउन आग्रह गरेको बताए । झापामा एक वर्षअघि आयोजित एक कार्यक्रममा पनि आगामी निर्वाचनमा उम्मेदवार नहुने घोषणा गर्दै इच्छुकहरुले आजैबाट मेहनत गर्न आग्रह गरेको कुरा स्मरण गर्दै बैठकमा महामन्त्री शर्माले फेरि पनि झापा क्षेत्र नम्बर एकबाट सर्वसम्मत सिफारिस गरेकोमा शुभेच्छुकहरुलाई धन्यवाद दिएका थिए ।
उनले भने, 'मेरो आग्रह छ चुनावमा अनुहार बदलेर जानुपर्छ । बढीभन्दा बढी युवा र नयाँ साथीहरूलाई अवसर दिनुपर्छ ।'
फागुन २१ मा हुने भनिएको निर्वाचनका लागि उपयुक्त वातावरण बन्न नसकेको चर्चा गर्दै उनले फागुन २१ मा निर्वाचन सम्भव नहुने हो भने अहिलेबाटै वैशाखमा चुनाव गर्नेगरीको वातावरण बनाउन सुझाव दिए । उनले भने, 'कि त सरकारले वातावरण बनाउन सक्नैपर्छ कि त सर्वपक्षीय संवाद र छलफल गरेर सरकारले वैशाखमा चुनाव गर्नुपर्छ ।' संवैधानिक प्रश्न सम्बोधन गर्न फागुन २१ मा ७ प्रदेशका ७ वटा निर्वाचन क्षेत्रमा चुनाव गर्न उनको सुझाव थियो ।
अर्को प्रशंगमा महामन्त्री शर्माले कार्यतालिका परिमार्जन गरेर तीन तहको अधिवेशन गर्न गरेर तोकिएकै मितिमा महाधिवेशन गर्न आवश्यक रहेको बताए ।
प्रकाशित: १० पुस २०८२ १८:३९ बिहीबार





