भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी स्वार्थका लागि काम गरिरहेको आरोप लगाएका छन्।
लोकसभाका विपक्षी नेता समेत रहेका गान्धीले शुक्रबार लखनउको इन्दिरा गान्धी प्रतिष्ठानमा कांशीरामको ९२औँ जयन्तीको अवसरमा आयोजित कांग्रेसको ‘सामाजिक परिवर्तन दिवस’ कार्यक्रममा बोल्दै मोदीको मनोवैज्ञानिक अवस्था सकिएको बताएका हुन्।
उनले भने, ‘मोदी अब भारतका प्रधानमन्त्री छैनन्, उनी अमेरिकाका लागि काम गरिरहेका छन् र नरेन्द्रले आत्मसमर्पण (सरेन्डर) गरेका छन्। जब म संसदमा बोल्न गइरहेको थिएँ, नरेन्द्र मोदी भागेका थिए।’
दैनिक भास्करका अनुसार त्यस क्रममा उनले थपे, ‘नरेन्द्र मोदीले देशको ऊर्जा सुरक्षामा सम्झौता गरेका छन्। किनकि अब अमेरिकाले निर्णय गर्दैछ कि हामी कहाँबाट तेल प्राप्त गर्न जाँदैछौं। ऊर्जा क्षेत्रको अवस्था झनै खराब हुँदै जानेछ।’
यो आरोप हालैको भारत र अमेरिका व्यापार सम्झौतासँग जोडिएको छ, जसले ऊर्जा आयात र राष्ट्रिय हितमा अमेरिकी प्रभाव बढाउने भन्दै कांग्रेसले निरन्तर विरोध गर्दै आएको छ।
अमेरिकाले भारतलाई रूससँग इन्धन आयात गर्न रोक लगाएको थियो। तर अहिले इरान युद्धका कारण अमेरिकाले भारतलाई रूससँग ३० दिनका लागि इन्धन खरिद गर्न अनुमति दिएको बताउँदै आएको छ। यो कुरालाई लिएर मोदीको आलोचना भइरहेको छ।
प्रकाशित: २९ फाल्गुन २०८२ २०:२७ शुक्रबार





