२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

सुर्खेतमा दुई बालबालिकासहित आमा बेपत्ता, भेरी किनारमा भेटियो झोला र मोबाइल

भेरी किनारमा भेटिएको चुप्पल, कपडाहरू र भेरी किनारमा खोजी कार्य गर्दै प्रहरीहरू। तस्बिर: नागरिक

सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्लेबाट दुई बालबालिकासहित एक महिला सम्पर्कविहीन भएपछि प्रहरी र स्थानीयले खोजी अभियान सुरु गरेका छन्। प्रहरीका अनुसार गुर्भाकोट–१२ पिप्ले बस्ने ३८ वर्षीया आमा माया कठायत आफ्नी ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षीय छोरा दिपक कठायतसहित आइतबार बिहानदेखि घरबाट सम्पर्कविहीन भएकी हुन्।

उनीहरू हराएको जानकारी उनका श्रीमान् ३७ वर्षीय भूपेन्द्र कठायतले आइतबार साँझ प्रहरी चौकी गुमी सुर्खेतमा गराएका थिए। त्यस लगत्तै सोमबार बिहानदेखि भेरी किनारमा खोजी कार्य तीव्र बनाइएको हो। सोही वडाका वडाध्यक्ष र स्थानीयको सहभागितामा संयुक्त रूपमा खोजतलास सुरु गरिएको प्रहरीले जनाएको छ।

खोजीका क्रममा उनीहरूको घरदेखि करिब ३ किलोमिटर टाढा रहेको भेरी नदीको किनारमा माया कठायतले प्रयोग गर्ने झोला, सल, चप्पल तथा एक थान मोबाइल फोन फेला परेको प्रहरीले जनाएको छ। तर, हालसम्म माया कठायत र उनका दुई सन्तानको अवस्था पत्ता लाग्न सकेको छैन।

हाल भेरी नदी आसपासका क्षेत्रमा व्यापक खोजतलास भइरहेको छ। इलाका प्रहरी कार्यालय तथा मातहतका प्रहरी चौकीहरूबाट खटिएका करिब ३५ जना प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी कार्यलाई तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापाले बताए।

प्रकाशित: २ चैत्र २०८२ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App