‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन्।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि भदौ २५ गते नवलपरासी करागारबाट ५४६ कैदी भागेका थिए। जसमध्ये ३६२ जना नवलपरासी करागारमा फर्किए भने चार जना अन्य कारागारमा फर्किएर बसेको कारागार प्रशासन नवलपरासीका नायब सुब्बा किरण आर्यालले बताए।
केही कैदीबन्दी आफै फर्केर आए पनि केहीलाई प्रहरीले पक्राउ गरी कारागार पठाएको थियो। तीमध्ये १५० पुरुष र ३० जना महिला कारागारमा हाजिर नभएर फरार नै रहेको उनले भने। कारागारलाई आफ्नो नियन्त्रणमा लिएर भागेका कैदीलाई कारागार प्रशासनले सूचना जारी गर्दै समयमा नै पुनः कारागार फर्किनका लागि सूचना जारी गरेको थियो।
कैदी कारागारबाट भाग्नुभन्दा पहिला नवलपरासी कारागारमा ५७५ जना कैदी रहेका थिए। तीमध्ये ४१ जना विदेशी (भारतीय) कैदी थिए। भारतीय कैदीबन्दीमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरी कारागार बुझाए पनि ३८ जना अझै फरार नै रहेका छन्। फरार कैदीबन्दीलाई खोजतलास गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वीरदत्त पन्तले बताए।
प्रकाशित: २ चैत्र २०८२ १२:२१ सोमबार





