२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

ईनिशा वि.कको हत्यारालाई कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण

सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी ईनिशा वि.कको सामूहिक बलात्कारपछि भएको हत्याको विरोधमा उदयपुरका डेढ दर्जन सामाजिक सङ्घसंस्थाले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

सोमबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मराज जोशीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले अपराधीलाई तत्काल कानुनी कठघरामा ल्याउन र कडा कारबाही गर्न माग गरेका हुन्।

गत फागुन २३ गते ट्युसन पढ्न हिँडेकी ईनिशालाई जङ्गलमा लगेर सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाले सिङ्गो समाज र राष्ट्रलाई नै स्तब्ध बनाएको ज्ञापनपत्रमा उल्लेख छ।

सङ्घसंस्थाका अगुवाहरूले यस्तो क्रुर र अमानवीय अपराधमा सरकारको मौनता वा ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गर्दै तत्काल दोषीमाथि कारबाही गर्न दबाब दिएका छन्।

ज्ञापनपत्र बुझाउने क्रममा अधिकारकर्मीहरूले घटनामा संलग्न भनिएका चार जना पक्राउ परे पनि उनीहरूमाथिको कारबाही प्रक्रिया सार्वजनिक नहुँदा घटना रहस्यमय बन्दै गएको आशङ्का व्यक्त गरे। ‘कतै दोषीलाई उम्काउने प्रपञ्च त भइरहेको छैन ?’ उनीहरूको प्रश्न थियो।

ज्ञापनपत्रमा ईनिशामाथि भएको जघन्य अपराधले बालबालिका, महिला र विशेषगरी दलित समुदायको सुरक्षा र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारमाथि गम्भीर चुनौती थपेको औँल्याइएको छ।

उनीहरूले कुनै पनि हालतमा दोषीलाई कानुनबमोजिम कडा सजाय हुनुपर्ने र पीडित परिवारले न्याय पाउनुपर्ने अडान राखेका छन्।

दलित महिला सङ्घ (फेडो) प्रदेश कमिटी, गैरसरकारी संस्था (गैसस) महासङ्घ प्रदेश र जिल्ला समिति, ओरेक, महिला मानवअधिकार केन्द्र, दलित अधिकार सञ्जाललगायत झन्डै १८ वटा संस्थाका प्रमुख तथा प्रतिनिधिले संयुक्त रूपमा ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।

ज्ञापनपत्र बुझाउन गएकी टोली सदस्य रमा मगरले निर्मला पन्त हत्याकाण्डजस्तै ईनिशाको घटनालाई पनि सेलाउन नदिन सरकारलाई नैतिक दबाब दिएको बताइन्।

अर्की सदस्य नजबुल खान र अधिकारकर्मी सागर नेपालले पनि दोषीलाई कडाभन्दा कडा सजाय नभए निर्मला पन्तकै नियति दोहोरिन सक्ने भन्दै बेलैमा राज्यलाई सचेत गराएको स्पष्ट पारे।

प्रकाशित: २ चैत्र २०८२ २१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App