१ वैशाख २०८२ सोमबार
image/svg+xml ४:४२ पूर्वाह्न
राजनीति

एमालेका केही केन्द्रीय नेता मसँग जोडिँदै हुनुहुन्छ: भीम रावल (अन्तर्वार्ता)

नेकपा (एमाले)ले सङ्गठित सदस्यबाट कारबाही गरेपछि पुस १७ गते पत्रकार सम्मेलन गरी मातृभूमि जागरण अभियान घोषणा गरेर हिँडेका डा. भीम रावल बिहीबार (आज) काठमाडौं आइपुगेका छन्।

यसबीचमा उनी कोशी, सुदूरपश्चिमलगायतका प्रदेशका सात जिल्ला पुगे र त्यहाँका जनतासँग संवाद गरे। रावलले अभियानको बिसाउनी पार्टी गठन भनेर यसअघि नै घोषणा गरिसकेका हुन्। 

त्यसोभए अब कहिले पार्टी घोषणा हुन्छ ? अभियान कस्तो भयो ? अभियानमा को-को जोडिँदै छन् ? यी यावत् विषयबारे हामीले उनै रावलसँग संक्षिप्त कुराकानी गरेका छौँ। 

***

मातृभूमि जागरण अभियानबाट आज काठमाडौं फर्किनुभयो, कस्तो भयो अभियान ?

अभियान व्यापक रूपमा सफल भयो। एकदमै उत्साहजनक भयो। जनताले पनि त्यसैगरी साथ दिनुभयो। तपाईं अगाडि बढ्नुपर्छ भनेर भन्नुभयो। अभियान अपेक्षा गरिएको भन्दा राम्रो र उत्साहजनक भयो।

अब ती जन-उत्साहहरूलाई कसरी समेट्नुहुन्छ ?

अहिलेलाई मातृभूमि जागरण अभियान, नेपाल भनेका छौँ। हामी जहाँ-जहाँ पुग्यौँ, त्यहाँ-त्यहाँ अभियानको तदर्थ समिति बनायौँ। केन्द्रीय स्तरमा पनि हामीले चाँडै नै सोचेका छौँ। उपयुक्त समयमा हामी घोषणा गर्छौँ।

तपाईंले यसअघि नै पार्टी नै बनाउने भन्नुभएको छ,कहिले बन्छ पार्टी ?

यसबारे अहिले नै भन्न सकिँदैन। तर, विचार र विमर्श गरेर उपयुक्त समयमा सम्भव भएसम्म चाँडै बनाउँछौँ। त्यो २०८४ को आवधिक निर्वाचनभन्दा अगाडि नै हुनेछ। अब उपयुक्त व्यक्ति तथा समूहसँग संवाद गर्नेछौँ। त्यसपछि हुन्छ।

पुस १७ गतेको पत्रकार सम्मेलनमा भीम रावल।

तपाईंले क्षेत्रीय पार्टी बनाउँदिनँ भनेर यसअघि नै भन्नुभएको छ, तर तपाईं अहिले सुदूरपश्चिमका सीमित जिल्ला मात्रै पुग्नुभयो, कसरी बनाउनुहुन्छ राष्ट्रिय पार्टी ?

मैले मेरो अभियानको सुरुवात नै कोशी प्रदेशबाट गरेको हुँ नि, झापाबाट। त्यो भएर सुदूरपश्चिम मात्रै भन्न मिल्दैन। अझै समय छ, सोच-विचार गरेर अझै जनसंवाद गरेर अनि उपयुक्त व्यक्ति तथा समूहहरूलाई जोड्दै अगाडि जाने हो। कुनै हतार छैन, वातावरण बनेपछि पार्टी बनाउने हो।

तपाईं एमालेको पूर्वउपाध्यक्ष, प्रभावशाली नेता, दशौं महाधिवेशनमा केपी शर्मा ओलीलाई चुनौती दिएको एक मात्रै नेता, तर तपाईंले अभियान सुरु गर्दा एमालेका नेताहरूले भने त्यति साथ दिएनन् नि ? भीम रावल हिँड्दा एमालेका केही नेता हिँड्छन् भन्ने थियो बाहिर ?

दिनुभएको छ, दिनुहुन्छ। कतिपय केन्द्रीय तहका नेताहरूसँग संवाद भइरहेको छ। उहाँहरूले साथ दिने भन्नुभएको छ। एमालेको सचिवालयका कुनै पनि नेताहरूसँग कुराकानी भएको छैन। तर, केन्द्रीय समितिका साथीहरूसँग कुराकानी भइरहेको छ। उहाँहरू ढिलोचाँडो यतै आउनुहुन्छ। त्यही हिसाबबाट कुराकानी भइरहेको छ। अहिलेको लागि म अभियानको प्रस्तावक मात्रै हुँ। यहाँ धेरै साथीहरू हुनुहुन्छ,सबैले उपयुक्त निर्णय गर्दै अगाडि जान्छौँ।

पार्टी बन्दा त तपाईंको नेतृत्वमा बन्छ नि ?

यसबारे पनि म अहिल्यै केही भन्दिनँ। दमनकारी राज्य, निरङ्कुश प्रवृत्तिहरूलाई जे गर्दा, जसको नेतृत्वमा अगाडि जाँदा ठीक हुन्छ,त्यसैगरी अगाडि जान्छौँ। म अहिलेका लागि प्रस्तावक हुँ।

तपाईंलाई कारबाही गर्ने एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीका प्रति जनताको दृष्टिकोण कस्तो पाउनुभयो ?

उहाँहरूले केपी ओली एकदमै दमनकारी, स्वेच्छाचारीर निरङ्कुश बन्दै जानुभएको छ भनेर भन्नुभयो, एकदमै व्यापक रूपमा केपी ओलीको आलोचना गर्नुभएको छ। उहाँ निरङ्कुश बन्दै जानुभएको छ भनेर जनताले भनेका छन्।

अन्तिममा पार्टी कहिलेसम्म बन्छ,योचाहिँ बताइदिनुस्।

उपयुक्त समयमा।

प्रकाशित: १ फाल्गुन २०८१ २१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App