२२ चैत्र २०८१ शुक्रबार
image/svg+xml ७:३० पूर्वाह्न
राजनीति

कांग्रेसलाई सत्ता सत्य, सिद्धान्त मिथ्या

‘देशमा प्रजातन्त्र आएपछि मोटाघाटा, सुकिलामुकिला, चिल्ला गाडी चढ्नेहरू पार्टीभित्र हाबी हुनेछन्। मेरै बारेमा पनि अनर्गल प्रचार हुनेछ। त्यसका विरुद्ध आम कार्यकर्ताले फेरि एकचोटि संघर्ष गर्नुपर्ने हुन्छ।’ नेपाली कांग्रेसका संस्थापकमध्येका एक बिपी कोइरालाले आफ्नै पार्टीका विषयमा व्यक्त गरेको भनाइको एक अंश हो यो।

दक्षिणी छिमेकी भारत ब्रिटिसहरूको औपनिवेशिकता समाप्त हुने चरणमा पुगेपछि बिपीले २००३ असोज १८ गते पार्टी गठनका लागि आह्वान गरेका थिए। ब्रिटिसहरूको आडमा लामो समयदेखि टिकेको नेपालको राणाशासन अन्त्य गर्ने र मुलुकमा प्रजातन्त्र बहाली गर्ने उद्देश्य उनले राखेका थिए। त्यसबाट उत्साहित कृष्णप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्यायलगायत युवाले कात्तिक १५ गते काशीमा गोष्ठी गरे।

२००३ चैत २९ गते जोगबनीमा भएको कार्यकारिणी र समर्थकको भेलाले नागरिक अधिकार प्राप्ति तथा राजनीतिक बन्दीहरूको रिहाइका लागि देशव्यापी सत्याग्रह गर्ने निर्णय गर्‍यो। ‘नेपाली कांग्रेसका ऐतिहासिक दस्तावेजहरू’ नामक पुस्तकमा लेखिएको छ, ‘यहाँसम्म कि अहिले झट्ट उत्तरदायी शासन पनि नमागेर नेपालमा नागरिक अधिकार मात्र माग गर्ने हाम्रो यस सत्याग्रहको तत्कालीन उद्देश्य रहेको छ।’

त्यसअघि बिपी, गणेशमान सिंहसहितका नेताहरू पार्टी गठन गर्ने निष्कर्षमा पुगेका थिए। सोहीअनुसार पार्टीको नाम, झन्डा, विधान टुंगो लगाउन २००३ माघ १२ र १३ गते कोलकाताको भवानीपुरमा अधिवेशन आह्वान गरे। सोही अधिवेशनलाई नै नेपाली कांग्रेसको प्रथम अधिवेशन (स्थापना दिवस) का रूपमा लिने गरिन्छ। झन्डै आठ दशकअघि नागरिक अधिकार र जनउत्तरदायी शासन व्यवस्थाका लागि खडा भएको कांग्रेसमा पार्टीको नीति, सिद्धान्त हराएर गएको छ।

बिपी कोइरालाले भनेजस्तै कांग्रेसमा अहिले मोटाघाटा, सुकिलामुकिला, चिल्ला गाडी चढ्नेहरू हाबी भएका छन्।  समानता र समाजवाद होइन, व्यक्तिगत लाभहानिका आधारमा निर्माण भएका गुटहरू हाबी भएका छन्। सत्ता र शक्तिका लागि हिजो गलत भनिएको विषय स्वार्थ मिल्दा बिनाहिचकिचाहट बोक्ने  प्रवृत्ति हाबी हुँदै गएको छ। आफू र आफ्नाका लागि अनि गुटगत स्वार्थ मिल्दा विधि र विधान कुल्चँदा पनि चुप बस्ने र आफ्नो स्वार्थ बाझिँदा कोकोहोलो मच्चाउने परिपाटीको विकास भएको छ।

‘जसको आङमा फाटेको र मैलो लुगा छ। टाउकोमा घेरा मात्र भएको टोपी छ। बिरामी परे ओखतीमुलो पाउँदैनन्। आफ्ना छोराछोरीलाई शिक्षादीक्षाको प्रबन्ध गर्न सक्दैनन्। जसलाई बिहान खाए बेलुका के खाऊँ र बेलुका खाए बिहान के खाऊँ भन्ने समस्या छ। तिनै गरिब किसानको देश हो नेपाल,’ बिपीले भनेका थिए। उनीहरूले आफू र आफ्ना लागि होइन, पार्टी र पार्टीभन्दा माथि देश र जनतालाई राखेका थिए। तर अहिले देश, पार्टी र जनता होइन, आफू र आफ्ना लागि भन्ने मानसिकता कांग्रेसमा हाबी भएको छ।

देश, जनता र पार्टीलाई के दिने होइन, कांग्रेसमा लागेबापत प्राप्त गरेको पदलाई देखाएर आर्थिक उपार्जन र व्यवसाय सञ्चालन गर्ने मानसिकता हाबी भएको छ। जसले गर्दा जनतासँगको सम्बन्ध टुट्दै गएको छ भने नेता–कार्यकर्ताबिच आत्मीयता होइन, लेनदेनको सम्बन्ध कांग्रेसमा हाबी भएको छ। पार्टीका नेता तथा कार्यकर्ता र जनतासँग होइन तस्करहरूसँग सम्बन्ध विस्तार हुँदै गएको आरोप कांग्रेसका नेताहरूमाथि लाग्ने गरेको छ अहिले।

पारस्परिक होइन, पुँजीवादी आचरण र व्यवहारमा रमाइरहेका कांग्रेसका नेताहरूको भाषणमा मात्र अहिले बिपीको समाजवाद बन्न पुगेको छ। नेता–कार्यकर्ताभन्दा गाडी घोडा, तस्कर र सुरक्षाकर्मीको घेरामा कांग्रेस नेताहरू भेटिने र देखिने गरेका छन्। बिपीले तत्कालीन (२०१२ सालमा) अवस्थामा एक पेट खाना, एक सरो लुगा, एक हल गोरु, दुहुनो गाईलाई समाजवादको मानक बनाएका थिए। त्यसैले कांग्रेसको आर्थिक कार्यक्रमको चिनारी पनि समाजवाद बनेको थियो। जनतासँगको सम्बन्ध विस्तार खुम्चिँदै गएको कांग्रेसका नेतालाई अहिले के गरिब, के धनी उनीहरू चिन्ता र चिन्तन आफू र आफ्नालाई कसरी बन्ने र बनाउने मात्र देखिँदै आएको छ। 

समाजवाद र लोकतन्त्र भाषणमा होइन, नेताहरूको आचरण, व्यवहार र कार्यक्रममा देखिने विषय हो भन्ने कांग्रेसका नेताहरूले भुलेजस्तो देखिएको छ। विधि, थिति र दिशाविहीनजस्तो बनेको कांग्रेस विचार र कार्यक्रमविहीनजस्तो बनेको छ, बेलाबेला सञ्चालन गर्ने अभियान व्यक्तिगत र गुटगत तुष्टि मेटाउने थलो बन्न पुगेको छ। पार्टीका कुनै निकायहरू पूर्ण रूपमा सक्रिय छैनन्। जातीय संगठनहरू खुल्दै गएका छन्। तर व्यावहारिक रूपमा भने कांग्रेस अझै समावेशी बन्न नसकेको गुनासो छ।

व्यवस्था फेरिए पनि नेताको मात्र अवस्था फेरिएको र देश जनताको अवस्था उस्तै रहेको जनगुनासो तीव्र छ। आम जनतामा निराशा र संक्रमणकालीन मानसिकता बढ्दै गइरहेका बेला कांग्रेसका जिम्मेवार नेताहरू त्यसलाई नै उचालेर आफ्नो स्वार्थ पूरा गर्न लागिपरेका छन्। अस्थिरतामा आफ्नो स्थान खोज्ने र बनाउने मनोवृत्तिले जनतामा मात्र होइन, पार्टीका आम कार्यकर्तामा निराशा छाएको छ। पुराना पुस्ता कांग्रेस राजनीतिबाट निस्क्रिय बन्दै गएका छन् भने युवा पुस्तामा धैर्य टुट्दै गएको छ।

सत्ताका लागि जुनसुकै दल र विचार बोकेका पार्टीसँग टाँसिने र गरेका वाचाहरू बिचमै छाड्दै जाँदा उसको सिद्धान्त र आदर्शप्रति जसरी टीकाटिप्पणी भइरहेका छन्, त्यसरी नै कांग्रेस पाका, युवा वा तन्नेरी पुस्ता कुनै पनि पुस्तालाई प्रतिनिधित्व गर्न नसक्ने पार्टी हुन थालेको टिप्पणी पनि हुन थालेको छ। किनकि भ्रातृ संगठनहरूको महाधिवेशन नभएको वर्षौं भएको छ। नयाँ पुस्तासँग जोडिन नसकेको कांग्रेसले लोकतन्त्रको मात्र होइन, आफ्नै अस्तित्व जोगाउन कठिन पर्ने त होइन भन्ने आशंका उनीहरूकै नेताहरूले गर्न थालेका छन्। 

प्रकाशित: १३ माघ २०८१ ०६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App