नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेस फुटाउन लागि परेको दाबी गरेका छन्। शनिवार एमालेनिकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले दाहालले कांग्रेस फुटाउन डा. शेखर कोइरालालाई उक्साइरहेको आरोप लगाएका हुन्।
‘कांग्रेस र एमालेलाई खेलाएर १८ महिना प्रधानमन्त्री भएका प्रचण्ड सत्ताबाहिर आएपछि कहिले शेरबहादुर देउवाकहाँ धाएर तपाईँ प्रधानमन्त्री भइदिनुपर्यो, मसँग विपक्षी ८० सांसद छन् भन्ने भन्न भ्याउँछन्,’ बस्नेतले भने,‘यिनै प्रचण्ड शेखर कोइरालाहरूलाई राखेर कांग्रेस विभाजन गरिदिनुपर्यो, भन्न पनि भ्याउँछन् ।’
दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आडमा यसो गरिरहेको पनि बस्नेतले बताए ।
‘तपाईँ माधवकुमार नेपालको आडमा यस्तो गरिरहनुभएको छ। आज माओवादीका जनार्दन शर्मालगायतका क्रान्तिकारी साथीहरूलाई तपाईँ सम्झाउन सक्नुहुन्छ ?,’ बस्नेतले प्रश्न गरे । माओवादी केन्द्रकै १५/१६ जना सांसदले विद्रोह गर्ने स्थिति बनेको पनि बस्नेतले दाबी गरे। ‘त्यसलाई तपाईँ रोक्न सक्नुहुन्छ ? म माधव नेपाललाई सोध्न चाहन्छु–तपाईँको पार्टी हो कि क्लब हो ? तपाईँको पार्टीका १० जनामध्ये जति मन्त्री दियो, उति फोड्न तयार छन्,’ बस्नेतले भने ।
सात जना सांसद हात उठाएर म माधवको पार्टीमा बस्दिनँ भनिरहेको बस्नेतले दाबी गरे ।
प्रकाशित: १२ माघ २०८१ १६:०९ शनिबार