राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले प्रष्टीकरण दिएकी छिन्। आफ्नो पार्टी सभापति रवि लामिछाने गृहमन्त्री भएको बेला एक जना बलात्कारीलाई जीवनदान दिएको स्वीकारोक्तिसहित लेखेको स्टाटस विवादास्पद बनेपछि उनले प्रष्टीकरण दिएकी हुन्।
उनले हजार राम्रा काम गर्दा कसैले हौसला नदिने तर सानो काम बिग्रँदा गलत अर्थ लगाउने झुण्डहरूको कमी नभएको बताएकी छिन्। यस्ता काममा बाहिरका भन्दा पनि आफ्नै भनिएकाहरू अझ सक्रिय रूपले लाग्ने गरेको उनले आरोप लगाइन्।
उनले लेखेकी छिन्, 'हजार राम्रा काम गर्नुस, कसैले तपाईलाई हौसला दिँदैन। तर लेख्ने क्रममा एउटा सानो फुलस्टप , कमा आदि छुट्यो भने लेखेको कुराको गलत अर्थ लगाएर यस्लाई मार्नु पर्छ, नमारी देश बन्दैन भनेर झुण्डहरू पछि लाग्छन्! त्यस्मा आफ्ना भनाउदा केही झुण्डहरू अझ सक्रिय रूपले लाग्दा रहेछन्!!
संग्रौलाले सुरुमा लेखेको स्टाटसमा "रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको" भन्ने वाक्यांश समावेश गरेकी थिइन्, तर केही समयमै उनले त्यो वाक्य हटाएर अर्को भिन्न सन्देश राखेकी थिइन्। उनको नयाँ स्टाटसमा भनिएको छ, "एउटा बलात्कारी आज निक्कै उफ्रिँदै छ रे त साथीहरू। अहिले कुर्सी त्यस्को बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी।"
यो स्टाटसले नेकपा एमालेका नेता महेश बस्नेतप्रति लक्षित गरेको आकलन गरिएको छ। जसले राजनीतिक वृत्तमा निकै चर्चा पाएको छ।
यो पनि पढ्नुहोस्
रास्वपा नेतृको बयान: रवि दाइ गृहमन्त्री हुँदा बलात्कारीलाई जीवनदान !प्रकाशित: १३ माघ २०८१ ११:०४ आइतबार