सान्नी त्रिवेणी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ। साक्षर गाउँपालिका घोषणा गर्नका लागि सम्पूर्ण सूचकहरू पूरा भएपछि आइतबार एक कार्यक्रमका बीच साक्षर गाउँपालिका घोषणा गरिएको शिक्षा शाखा प्रमुख मोहनविर धामीले बताए।
प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवालले साक्षर पालिका घोषणा गर्नका लागि सरकार शैक्षिक सरोकारवालाको मात्र भूमिका नभई आम सान्नी त्रिवेणी गाउँपालिकावासी र विभिन्न संघसंस्थाको समन्वय तथा सहकार्यले सफल हुन पुगेको बताए।
गाउँपालिका उपाध्यक्ष पार्वती शिंह संज्यालले साक्षर पालिका घोषणा गर्नका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगी निकाय र सम्पूर्ण गाउँपालिका बासिन्दा, शिक्षक र सामाजिक अभियन्तालाई धन्यवाद प्रकट गरिन्। उनले पालिकालाई आगामी दिनमा बालविवाह मुक्त पालिका, छुवाछुत मुक्त पालिका र छाउपडी मुक्त पालिका निर्माण गर्ने समेत बताइन्।
पालिकाको समग्र विकास शिक्षामा जोडिएको र शिक्षामा पहिलो सफलता प्राप्त गर्न सफल भएको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए। अहिले पालिकाका ९५ प्रतिशत नागरिक साक्षर हुँदा साक्षर पालिका घोषणा गरिएको उनको भनाइ छ।
आगामी दिनमा पालिकालाई पूर्ण साक्षर पालिका घोषणा गर्ने तयारीमा सबै लाग्नु पर्ने आवश्यकता उनले महसुस गरे। गाउँपालिकाको विकास र समृद्धिका शिक्षामा सुधार गरेर अगाडि बढ्ने उनको भनाइ छ।
यस गाउँपालिकाको कुल जनसंख्या १३ हजार ४ सय ९१ रहेकोमा ९५ दशमलव १० प्रतिशत नागरिक साक्षर भएका छन्। यस्तै जिल्लामा चार पालिका साक्षर घाेषणा भइसकेका छन्।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बडुवालको अध्यक्षता, गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीको प्रमुख आतिथ्यता, उपाध्यक्ष पार्वती सिंह, जिल्ला समन्वय समितिका प्रवक्ता अजयबहादुर बम, सामाजिक विकास कार्यालय कालीकोटका प्रतिनिधि रमेश लोहारलगायतको आतिथ्यतामा साक्षर पालिका घोषणा गरिएको छ।
प्रकाशित: १४ माघ २०८१ १०:१० सोमबार