गोलकिपर दीप कार्की पेनाल्टी सुटआउटमा चम्किँदा संकटा क्लब सोमबार मच्छिन्द्रलाई हराउँदै सभापति कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा संकटाले पेनाल्टी सुटआउटमा मच्छिन्द्रलाई ८–७ ले हराउँदै उपाधि भिडन्त तय गरेको हो।
संकटाको जितमा गोलकिपर दीपले पेनाल्टी सुटआउटमा गोल गर्दा एउटा प्रहार पनि रोके। निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलियो हो।
पेनाल्टी सुटआउट पनि रोमाञ्चक नै बन्यो। दुवै टोलीले पहिलो सात पेनाल्टीमा गोल गरे। यस क्रममा मच्छिन्द्रका समीरराज थोकर, दिवाकर चौधरी, सनिष श्रेष्ठ, ओमोलाजा नुरिन करिम, देवेन्द्र तामाङ, छिरिङ गुरुङ र विमल घर्तीमगरले गोल गरे।
यता, संकटाको पनि पहिलो सात पेनाल्टीमा राम थापा, सृजन क्षेत्री, सन्तोष खत्री, साम कार्लोस, गोलकिपर दीप कार्की, अबेक रिचार्ड र रोशन पहारीले सफलता पाए। तर, दुवैको आठौं पेनाल्टी सफल भएन।
मच्छिन्द्रका आयुष घलानको फितलो प्रहार संकटाका गोलकिपर दीपले सहजै रोके। तर, संकटाका चन्दन दासले पनि पेनाल्टीमा गोल गर्न नसकेपछि मच्छिन्द्रले राहत सास फेर्यो। त्यसपछि नवौं पेनाल्टी हान्न आएका मच्छिन्द्रका दयानन्द सिंह पनि असफल भए। उनको प्रहार माथिल्लो बारमा ठोकिएर बाहिरिन पुग्यो। यससँगै संकटाले अर्को अवसर पायो।
संकटाका बोटेङ इम्यानुएलले नवौं पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीलाई फाइनलमा पुर्याए। अब संकटाले उपाधिका लागि आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती र एनआरटीबीचको विजेतासँग खेल्नेछ।
हारपछि मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आशा गरिएका खेलाडीले पेनाल्टी अवसर गुमाउँदा हार बेहोरको बताए। संकटाका प्रशिक्षक रवीन्द्र सिलाकारले मच्छिन्द्र राम्रो टोली रहेकाले उसका महत्त्वपूर्ण खेलाडीलाई निगरानी राखेर खेल्दा पेनाल्टी सुटआउटसम्म पुगेको उल्लेख गरे। निर्धारित समय र पेनाल्टी सुटआउटमा आफ्ना खेलाडीले राम्रो खेलेको उनको भनाइ छ।
मंगलबार दोस्रो सेमिफाइनलमा एनआरटी र आयोजक भिड्नेछ। त्यसअघि २६औं मिनेटमा संकटाका अभेक रिचर्डको हेडर मच्छिन्द्रका ओमुलजा नोरिन करिमले गोललाइनबाट बचाए।
राइट साइडबाट अभिषेक वाइबाले दिएको उत्कृष्ट क्रसलाई मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठ नियन्त्रणमा लिने प्रयासमा अगाडि बढेका थिए। विशाल बिट भएको अवस्थामा रिचर्डको हेडर गोलतर्फ अग्रसर भएको थियो। तर, डिफेन्डर करिमले ब्याक भली गर्दै गोललाइनबाटै क्लियर गरे।
४२औं मिनेटमा मच्छिन्द्रका अर्मान्ड बिडौमले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार संकटाका गोलकिपर दीप कार्कीले सहजै नियन्त्रणमा लिए।
पहिलो हाफको थप समयमा मच्छिन्द्रका छिरिङ गुरुङको लामो दूरीबाट भएको प्रयास सफल रहेन। यससँगै पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो।
दोस्रो हाफमा पनि मच्छिन्द्रले राम्रा अवसर सदुपयोग गर्न सकेन। ५५औं मिनेटमा दयानन्द सिंहले करिब ८ यार्डबाट गोल गर्न चुके। राइट साइडबाट रोबर्ट कोबिनाले दिएको बललाई पेनाल्टी बक्समा अनमार्क दयानन्द वान टच गोल गर्न चुके।
एक मिनेटपछि नै मच्छिन्द्रले अर्को अवसर गुमायो। सनीष श्रेष्ठले पेनाल्टी बक्सबाट दिएको पासलाई मनीष डाँगी र कोबिनाले भेट्टाउन सकेनन्। त्यसपछि बाँकी समयमा दुवै तर्फबाट केही अवसर सिर्जना भए पनि गोल निस्किएन। खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको हो।
प्रकाशित: १४ माघ २०८१ २१:२४ सोमबार