१९ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस राष्ट्रिय शक्ति हो, चुनाव हारे पनि जिम्मेवारीबाट भाग्दैन : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस चुनावमा हार वा जितलाई मात्र आधार बनाएर आफ्नो राजनीतिक जिम्मेवारीबाट पछि हट्ने पार्टी नभएको बताएका छन्। 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रमा बोल्दै सभापति थापाले जनताका समस्या समाधान गर्न कांग्रेसले संसद्, प्रदेश र स्थानीय तहदेखि समाजसम्म आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। 

उनले भने, ‘जनताका अनेकौँ समस्या समाधान गर्ने जिम्मेवारी कांग्रेसको हो। नेपाली कांग्रेसको संसदीय दलका नेता माननीय विश्वप्रकाश शर्माको नेतृत्वमा शानदार ढंगले नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ।’ 

उनले सरकारको काम सरकारकै र प्रतिपक्षको काम प्रतिपक्षकै भनेर जिम्मेवारीलाई साँघुरो बनाउन नहुने बताए। उनका अनुसार परिवार, समाज र राज्यमा बढिरहेको अविश्वास कम गर्दै नागरिकसँगको सम्बन्ध बलियो बनाउनु कांग्रेसको महत्वपूर्ण दायित्व हो।

थापाले कांग्रेसको ऐतिहासिक चरित्र नै जिम्मेवारीबोधसहित देशका लागि काम गर्नु रहेको बताए। उनले विगतमा कांग्रेसले सीमित संख्याका सिट हुँदासमेत संविधान निर्माणजस्तो ऐतिहासिक जिम्मेवारी पूरा गरेको बताए। 

‘नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभा बन्यो र संविधान बन्यो। त्यो किन सम्भव भयो? किनभने कांग्रेससँग संख्या र शक्ति मात्र थिएन, जिम्मेवारीबोध र क्षमता पनि थियो,’ उनले भने, ‘सीटको संख्या सीमित भए पनि देशलाई नेतृत्व गर्ने ताकत राख्नु नेपाली कांग्रेसको ऐतिहासिक चरित्र हो।’  

उनले फागुन २१ मा भएको निर्वाचनमा कांग्रेसले पाएको परिणामलाई लिएर हीनताबोध गर्न नहुने बताउँदै उनले कांग्रेसले निर्वाचन नचाहेको नभई निर्वाचनको वातावरण बनाउन सबैभन्दा पहिले पहल गर्ने पार्टी कांग्रेस नै भएको बताए। 

‘कांग्रेसले चुनावको संख्यालाई हेरेर आफ्नो भूमिका निर्धारण गर्ने होइन। नेपालको राजनीति, संस्थाहरू र समाजलाई बुझेर उच्च मनोबलका साथ कांग्रेस राष्ट्रिय शक्ति हो भन्ने आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’ उनले भने। 

सभापति थापाले कांग्रेसको अर्को महत्वपूर्ण विशेषता समाजलाई जोड्ने रहेको बताए। पहाड, मधेस, जनजाति, महिला तथा विभिन्न समुदायका आवाजलाई एउटै राजनीतिक मञ्चमा जोड्ने काम कांग्रेसले गर्दै आएको उनको भनाइ थियो। 

‘पहाडको पार्टीले पहाडको बोल्ने, जनजातिको पार्टीले जनजातिको बोल्ने होइन, सबैको आवाज बोल्ने र सबैलाई जोड्ने काम नेपाली कांग्रेसले गर्दै आएको छ,’ उनले भने। 

उनले सुशील कोइरालाको नेतृत्वमा संविधान जारी हुनु कांग्रेसको यही चरित्रको उदाहरण भएको बताए। संविधान जारी भएपछि भएको निर्वाचनमा कांग्रेस पराजित भए पनि त्यसलाई स्वीकार गरेर लोकतान्त्रिक प्रक्रियालाई अघि बढाएको उनले स्मरण गरे। 

उनले कांग्रेसको इतिहासमा निर्वाचनमा हार र जित दुवै आएको भए पनि हरेक पटक पार्टीले लोकतान्त्रिक मूल्य, संविधान र समाजलाई जोड्ने आफ्नो चरित्रलाई निरन्तरता दिएको बताए। 

‘चुनाव हार्नु कांग्रेसको अन्त्य होइन। चुनाव हार्दा पनि समाजमा विश्वास जगाउने, संविधानको रक्षा गर्ने र लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउने काम कांग्रेसले गर्दै आएको छ,’ थापाले भने। 

प्रकाशित: १९ आश्विन २०८३ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App