१९ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

‘प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ’

श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले हल्लाका भरमा नभई लामो संघर्ष, त्याग र बलिदानबाट नेपाली कांग्रेस स्थापना भएको बताएका छन्।

पार्टीको आजदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै महासचिव राईले नेपालमा संघीय लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे।

‘कांग्रेसको इतिहास धेरै पढ्यौँ र हेर्यौँ, वास्तवमा यो हल्लाद्वारा स्थापित भएको पार्टी होइन’, महासचिव राईले भने। कांग्रेसको इतिहासमा धेरै नेता तथा कार्यकर्ताले व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणका लागि योगदान गरेको उनको भनाइ थियो।

महासचिव राईले कांग्रेसले आगामी दिनमा सत्तामा कति समय रहनेभन्दा पनि जनताका पक्षमा कति राम्रो काम गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

राष्ट्रिय उन्मुक्ति पार्टी नेपालका संस्थापक रेशमलाल चौधरीले राणाशासन र पञ्चायती व्यवस्थाको अन्त्य तथा विद्यमान संविधान निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए।

मुलुकको परिवर्तित राजनीतिक घटनाक्रम तथा बदलिँदो परिवेशबीच कांग्रेस अझै सशक्त र जिम्मेवार ढंगबाट अघि बढ्नुपर्ने बताउँदै जारी महाधिवेशन सफलताको कामना गरे।

राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपानेले कांग्रेसको १५औँ महाधिवेशन ऐतिहासिक स्थलमा महाधिवेशन हुन लागेकामा खुसी व्यक्त गर्दै मुलुकको समग्र भविष्यको दिशा निर्धारण गर्न महाधिवेशन सफल होस् भनी शुभकामना दिए।

देशको विशिष्ट राजनीतिक घटनाक्रम र परिस्थितिबीच हुन लागेको यस महाधिवेशनबाट कांग्रेसको आन्तरिक जीवनमा मात्र नभई मुलुकको लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागिसमेत योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: १८ आश्विन २०८३ १७:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App