नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनका कारण मुलुकमा निम्तिएको संकटविरुद्ध अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा अडान लिन प्रमुख प्रतिपक्षी दल कांग्रेस सरकारको साथमा दृढतापूर्वक उभिने घोषणा गरेका छन्।
नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपसभापति शर्माले फागुन २१ को निर्वाचनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुमतको सरकार र संसद्मा जिम्मेवार प्रतिपक्षको रूपमा रहेको कांग्रेस मिलेर यो आधा दशकलाई उपलब्धिमूलक बनाउनुपर्ने धारणा राखे।
काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भोटेकोशी विपद्मा १४ सयभन्दा बढी नागरिकले ज्यान गुमाएको र ५ हजारभन्दा बढी बेपत्ता भएको पीडादायी अवस्था स्मरण गराउँदै पग्लिँदै गएका हिमालको रक्षाका लागि दलीय राजनीतिभन्दा माथि उठ्न आह्वान गरे।
जलवायु संकटको गम्भीरता दर्शाउँदै उनले प्रश्न गरे, ‘कल्पना गरौं, हिउँविहीन हिमाल, पहाडविनाको नदी, नदीविनाको समुद्र र रुखविहीन जंगल कस्तो हुन्छ होला ? मानिसविहीन पृथ्वीको कल्पना गर्न सकिन्छ ? त्यसैले यो महाधिवेशनबाट हामीले साझा संकल्प गर्नुपर्छ।’
वि.सं. २००३ सालमा स्थापना भएको नेपाली कांग्रेसले निरंकुशताविरुद्ध लडेर जननायक बीपी कोइरालाले प्रस्तावित गरेको संसदीय लोकतन्त्रलाई आज सबै दलको साझा बाटो बनाएको चर्चा गर्दै उपसभापति शर्माले संविधान नै मुलुकको राष्ट्रिय एकताको साझा दस्तावेज भएको बताए।
प्रकाशित: १८ आश्विन २०८३ १७:३० आइतबार





