१४ माघ २०८१ सोमबार
image/svg+xml
राजनीति

‘धोकेबाज’ आरोपित दाहालले बल्ल भनेः कांग्रेस–एमालेबाट नराम्रोसँग धोका खाएँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पछिल्लो राष्ट्रिय राजनीतिमा ‘धोकेबाज’को आरोप लाग्ने गरेको छ। कहिले नेपाली कांग्रेस, कहिले नेकपा एमालेलाई जिल्लाउँदै काँध फेरी फेरी १८ महिना प्रधानमन्त्री चलाएका दाहाललाई दुवै दलका नेताहरूले संसदमै धोकेबाजको आरोप लगाएका थिए। 

उनी आफैले माओवादी केन्द्रको ३२ सिटलाई ‘जादुयी नम्बर’ भन्थे । 

उसो त दाहाललाई धोकेबाजको आरोप कांग्रेस र एमाले मात्रै पनि लगाउन्नन्, उनको साथमा रहेका नेकपा एकीकृत समाजवादीले समेत लगाउने गरेको छ। 

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अझै एक कदम अघि बढेर ‘पिठ्यूँमा छुरा रोपेको’ भन्नेसम्मको आरोप लगाइरहेका छन् । यही कारण उनी दाहालले प्रयास गरिरहेको समाजवादी मोर्चामा सहभागी हुन गएका छैनन् । 

२०८० फागुन २१ मा दाहालले सत्ता कांग्रेसको काँध त्यागेर एमालेको काँध चढ्दा संसद्मा कांग्रेसका तत्कालीन प्रमुख सचेतक रमेश लेखकले ‘धोका पाएकाहरू एक ठाउँमा आए कहाँ पुग्नुहुन्छ ?’ भनेर दाहाललाई प्रश्न गरेका थिए।

नभन्दै त्यसको चार महिनापछि कांग्रेस–एमालेले गठबन्धन गरेर सरकार बनाए । दाहाल प्रतिपक्षमा पुगे। लेखक त्यसयता गृहमन्त्री छन्। 

यसरी लामो समय आफूलाई ‘कन्फर्ट’ हुँदा प्रयोग गर्ने र अप्ठेरो पर्दा हुत्ताउँदै ठुला साना सबै दलसँग सत्ताको खेल खेलिरहेका दाहाल सत्ता गुमेयता भने छटपटीमा छन्। उनका अभिव्यक्तिमा सत्ता गुम्दाको पीडा सहजै महसुस गर्न सकिन्छ। 

यस्तोमा अहिलेसम्म अरूलाई धोकेबाज वा धोका दिएको आरोप भने लगाउन सकेका थिएनन् । शनिवार दाङ पुग्दा भने दुई दल मिल्दा आफ्नो मनभित्र भएको धोकाको आभास थाम्न सकेनन्। मुखबाट फुत्काइहाले । 

‘मैले पछिल्लो पटक नराम्रोसँग धोका खाएँ मैले,’ एक सार्वजनिक कार्यक्रममा दाहालले भने, ‘र,धोकेबाजलाई विश्वास गर्न मन पनि छैन ।’ त्यही धोकाका कारण अब आफू जनतामा जान लागेको पनि उनले बताए । 

‘म सरकारसँग होइन अहिले जनतासँग नै रमाइरहेको छु । कञ्चनपुर देखि झापासम्म तपाईँले देख्नुभएकै छ, मलाई सरकार प्राप्तिको कुनै हतारो छैन,’ उनले भने । तर, अवस्था आउँदा फेरि जिम्मेवारीबाट नभाग्ने पनि दाहालले बताए।

प्रकाशित: १२ माघ २०८१ १९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App