खानेपानी मन्त्री प्रदीप यादवले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(हर्क साम्पाङ)ले खानेपानी समस्याका विषयमा ‘ड्रामा’(नाटक) गरेको आरोप लगाएका छन्। शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले त्यसरी नाटक गरेर खानेपानीको समस्या समाधान पनि नहुने बताएका हुन्।
‘धरानका जनतालाई आफैँ पानी खुवाउँछु भन्दै मेयर साम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पार्ने काम गर्नुभएको छ,’ मन्त्री यादवले भने, ‘यस्ता ड्रामा गर्नुभन्दा गम्भीर भएर काममा लाग्नु जरुरी छ।’
मन्त्री यादवले धरानको जनतालाई पानी दिने दायित्व सरकारको भएको पनि बताए । यस विषयमा सङ्घीय सरकारले काम अघि बढाउन लागेको पनि उनले बताए ।
केही दिनअघि धरानको खानेपानी आयोजना निर्माणका लागि बजेट माग्दै मेयर साम्पाङ थोत्रो गाग्री बोकेर काठमाडौं आएका थिए । सोही गाग्री बोकेर उनी मन्त्री यादवसँग भेट्न सिंहदरबार प्रस्थान गरेका थिए । तर, सिंहदरबारको गेटमा प्रहरीले उक्त गाग्री भित्र लैजान नदिएर खोसेको थियो ।
प्रकाशित: ११ माघ २०८१ १४:३६ शुक्रबार