भारतबाट उद्धार गरिएका विराटनगरका पाँच जना बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरी भारतको कटिहारबाट उद्धार गरिएका बालबालिका अभिभावकलाई बुझाइएको हो।
कार्यक्रममा कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्य मन्त्री सृजना राई, विराटनगर महानगरपालिकाका महिला विकास अधिकृत मञ्जु लोहनी लगायतले फेला परेका बालबालिका अभिभावकको जिम्मा लगाएका थिए।
उद्धार गरिएका बालबालिकाहरूमा विराटनगरका ११ र ७ वर्षीय बालक, विराटनगर १३ र १० वर्षीया बालिका छन्। यस्तै, विराटनगर १४ की १७ वर्षीया पूजा सहनी रहेकी छन्।
उनीहरूलाई नेपाल स्थित भारतीय दूतावासको सहयोगमा भारतको कटिहारबाट उद्धार गरिएको नयाँ दिल्ली स्थित किन इन्डियाका निर्देशक नवीन जोशीले जानकारी दिए।
संस्थाले नेपालबाट बेचबिखनमा परेका, भारतमा उच्च जोखिममा परेका लागि उद्धार गरि नेपाल फिर्ता पठाउने र नेपालमा फेला परेकालाई भारत फिर्ता गराउने काम गर्दै आएको उनले बताए।
किन् इन्डियाले हालसम्म ८ सय जनाको उद्धार गरि अभिभावकको जिम्मा लगाइसकेको उनले जानकारी दिए।
किन् इन्डियाले नेपाल र भारत सरकारसँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ थियो।
पछिल्लो पटक उद्धार गरि फिर्ता गरिएकाहरू रेल्वे र बस स्टेशनमा फेला परेका थिए। हराएका बालबालिकाहरूले जोगवनीबाट ट्रेन चढेर कटिहार पुगेको र प्रहरीले फेलापारी बालगृहमा राखेको बताइएको छ।
पछिल्लो तीन वर्षमा कोशी प्रदेशबाट १ सय ३० जना बालबालिका हराएका छन्। हराएका मध्ये ११० जना बालबालिकाहरूको उद्धार गरिएको छ।
२० जना अझै फेला पार्न नसकिएको बालबालिका खोज तलास समन्वय केन्द्र (१०४) कोशी प्रदेशका समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिए। उनले भने, ‘११० जनाको उद्धार गरि परिवारको जिम्मा लगाइएको छ।’
कोशी प्रदेशका विभिन्न सहरहरूमा सडक आश्रित १६२ जना सडक बालबालिकाहरू उद्धार गरी सामाजिकीकरण प्रक्रियामा रहेको समन्वय अधिकृत अधिकारीले बताए।
उनका अनुसार ३३ जना विभिन्न स्थानमा बेवारिसे अवस्था फेला पारि उद्धार गरी संरक्षण तथा व्यवस्थापन गरिएको अधिकारीले बताए।
प्रकाशित: १३ माघ २०८१ २२:१७ आइतबार