नेकपा एकता अभियानका संयोजक वामदेव गौतम अब आफ्नै पार्टी विस्तार गरेर अगाडि बढ्ने भएका छन्।
नेकपा (एमाले) ले झुक्याएपछि गौतम आफ्नै पार्टी विस्तार गरेर अगाडि बढ्ने निष्कर्षमा पुगेका हुन्। एकता अभियानका महासचिव डीबी कार्कीले नागरिकसँग भने, 'अब अहिलेलाई आफ्नै पार्टी विस्तार गरेर अगाडि बढ्छौँ।'
महासचिव कार्कीले 'पार्टीमा वामदेव आउँदैछन्...' भनेर एमालेले भीम रावलमाथिको कारबाहीपछि पार्टीमा गइरहेको पहिलो रोक्ने काम मात्रै गरेको आरोप लगाए। 'भीम रावललाई निकालेपछि एमालेमा पहिरो गइरहेको थियो। वामदेव आउँदैछन् भनेर एमालेले त्यो पहिरो रोक्ने काम मात्रै गर्यो,' उनले भने, 'शब्दजालमा फसाएर यताउता गर्नुहुन्न।'
उनका अनुसार अब एकता अभियानले तत्कालका लागि कुनै पनि पार्टीसँग एकता गर्ने छैन।
नेकपा (एकीकृत समाजवादी)सँग पनि केही महिना एकता सम्भव नरहेको महासचिव कार्कीले बताए। 'अध्यक्ष माधवकुमार नेपालसँग कुरा भइरहेको छ,' उनले भने, 'तर, एक डेढ महिना बिना एकता नहोला।'
एकीकृत समाजवादी भने गौतमसँग रिसिएको छ। एकताको मोडालिटीसमेत तयार भइसकेको अवस्थामा त्यसलाई बीचमै छाडेर उनले एमालेसँग संवाद अगाडि बढाएका थिए। एकीकृत समाजवादीले अब कुनै सर्त बिना गौतमसँग एकता नगर्ने बताएको छ।
तर, महासचिव कार्की भने एकीकृत समाजवादीले पनि एमालेले जस्तो 'वामदेव आउँदैछन्...' भनेर पार्टीमा गइरहेको पहिरो नै रोक्ने काम गरेको बताए।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्ववत् अवस्थामा फर्किएपछि त्यसलाई पुन: एकतामा ल्याउने उद्देश्यसहित गठित एकता अभियान अहिले पार्टीकै रूपमा छ। एकता अभियानका नेताहरूले एमाले, एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) सँग क्रमश: एकताका लागि संवाद गर्ने बताउँदै आएको छ।
तर, एकीकृत समाजवादी र एमाले दुबैसँग एकता हुन नसकेपछि एकता अभियान आफ्नै पार्टी विस्तार गरेर अगाडि बढ्ने निष्कर्षमा पुगेको हो।
प्रकाशित: १४ माघ २०८१ १९:३९ सोमबार