१७ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

वामदेवको ‘पेन्डुलम’ फेरि माधवतिरैः नेकपा एसले अब बिना सर्त नभित्र्याउने

केही दिनअघि ‘ओलीजीले बोलाउनुभयो, अब एमालेमै जाने भइयो’ भन्दै घोषणा गरेका वामदेव गौतम अहिले रनभुल्लमा छन्। एमालेले उनलाई सहजै नभित्र्याउने छाँटकाँट देखाएन। त्यसपछि वामदेवको ‘पेन्डुलम’ फेरि नेकपा एकीकृत समाजवादी(नेकपा एस) तिरै सरेको छ। 

 यो पनि पढ्नुहोस्ः   वामदेव भन्छन्- एमालेले मलाई गम्भीर रूपमा लिएन, यता न उताको भएँ | Nagarik News

वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले फेरि नेकपा एसमा जान लबिङ बढाएको छ। ‘वामदेव कमरेडको सचिवालयबाट छलफलको वातावरण मिलाउनुपर्‍यो भनेर पटक–पटक फोन आइरहेको छ,’ नेकपा एसका प्रचार विभाग उपप्रमुख दामोदर अर्याल भन्छन्, ‘यताबाट कुनै प्रतिक्रिया गएको छैन । तर, अब छलफलमा बस्नुअघि उहाँले आत्मालोचनासहित आउनुपर्छ भन्ने हाम्रो धारणा हो।’ 

 यो पनि पढ्नुहोस्ः    वामदेव फेरि ‘पेन्डुलम’ ! | Nagarik News

यो अवस्था वामदेवकै कारण सिर्जना भएको अर्याल बताउँछन् । ‘एक दुई वर्षदेखि उहाँ हामीसँग छलफलमा हुनुहुन्थ्यो । हाम्रो पार्टी कार्यालयमा नियमित आइरहनुहुन्थ्यो । एकताको कुरा पनि फाइनल भयो । अन्तिम अवस्थामा धोका दिएर अन्तै लाग्नुभयो,’ अर्यालले भने। इतिहास बोकेको नेतालाई पार्टीले समेट्न खोज्दा उल्टै पार्टीलाई नै अपमान हुने काम भएको उनले बताए । 

‘उहाँलाई हामीले स्वागत नै गरिसकेका थियौँ । पुस २७ गते आफै पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीमा आउने भनेर जानुभएको थियो,’ अर्यालले अगाडि भने। 

अर्यालका अनुसार वामदेवलाई बढी भाउ दिँदा उल्टै धोका दिएको अनुभूति नेकपा एसलाई छ। वामदेवका पछिल्ला गतिविधिले उनमा रहेको ‘ढुलमुलेपन’ अझैँ नगएको देखिएको अर्यालले बताए । 

‘हिजोका दिनमा उहाँ यताउता ढुलमुल नै गर्नुहुन्थ्यो । अब त बुढो हुनुभयो, परिपक्व भइसक्नुभयो हाेला भनेको, आज पनि त्यो बानी गएको रहेनछ,’ अर्यालले भने, ‘लगत्तै एक पटक धोका दिएर जानुभयो, फेरी आउन कसरत गर्दै हुनुहुन्छ। अब आत्मालोचना नगरी भित्र्याउने सम्भावना छैन।’ अब पहिले आत्मालोचना, त्यसपछि छलफल गर्ने नेकपा एसको अडान रहेको उनले सुनाए । 

‘आत्मालोचना गर्दा अब ढुलमुले पन देखाउँदिनँ, पार्टीमा प्रवेश गरेपछि यताउता गर्दिनँ भन्ने खालको विश्वास देखाउनुपर्छ,’ उनले भने। 

सँगै वामदेवले नेकपा एसको १० औँ महाधिवेशनले पारित गरेको नीतिलाई निशर्त समर्थन गर्नुपर्ने पनि नेकपा एसको सर्त छ। अर्यालले अगाडि भने, ‘पार्टी अध्यक्ष(माधवकुमार नेपाल) कमरेडले ठुलो मन बनाएर नीतिमै पनि उहाँको विषयलाई सम्बोधन गरेर त्यसै अनुसारको व्यवहार गरेर अघि बढ्ने निर्णय गर्नुभएको थियो। त्यो अनुकूल वामदेव कमरेडको व्यवहार भएन।’ 

वामदेवको त्यो ‘यू–टर्न’

पुसको पहिलो साता नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र वामदेव बसेर एकताको विषयमा घनिभूत छलफल गरेका थिए। 

 यो पनि पढ्नुहोस्ः बरालिएका वामदेव | Nagarik News

जसमा वामदेवलाई वरिष्ठ उपाध्यक्ष दिने, अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको वरियतामा राख्ने सहमति नै भइसकेको थियो। यो सम्झौतापछि उनले आफू नेकपा एसमा जाने फिक्स भएको बताउँदै एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावललाई पनि नेकपा एसमै आउन आग्रह समेत गर्न भ्याएका थिए । पुस २७ गतेलाई पार्टी एकताको दिनको मिति तय गरिएको थियो । 

 यो पनि पढ्नुहोस्ः एकीकृत समाजवादीसँग चाँडै एकता हुने भयो : वामदेव | Nagarik News

यसैबीचमा एकाएक एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेवलाई फोन गरे। ओलीले वामदेवलाई एमालेमा आउन आग्रह गरेपछि उनी एकाएक नेकपा एसमा जान रोकिएका थिए । 

त्यसपछि ओलीसँग माघ ५ गते वामदेवको भेटवार्ता भयो। त्यसपछि वामदेवले ‘ओलीजीले बोलाउनुभयो, एमालेमै जाने भइयो’ भनेर हौसिएका थिए।

  यो पनि पढ्नुहोस्ः  वामदेव गौतम भन्छन्: ओलीजीले बोलाउनुभयो, एमालेमै जाने भइयो | Nagarik News

 तर, एमालेको माघ ८ गतेको सचिवालय बैठकले वामदेवलाई भित्र्याउने निर्णय गरेन, बरु उनीसँग ‘सहकार्य गर्दै जाने’ भन्ने निर्णय गर्‍यो।   

त्यसपछि वामदेवको एमालेमा जाने उत्साह हराएको छ। उनी फेरी नेकपा एससँग लबिङ गर्न फर्किएका छन्। 

प्रकाशित: १३ माघ २०८१ १७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App