१७ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

केशलिया करिडोर प्राथमिकतामा छ: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरी र मोरङको सिमाना स्थित केशलिया नदिमा निर्माण गर्न लागिएको करिडोर प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

बुधबार सुनसरीको वर्जु स्थित एभरेष्ट साइन्स सेन्टरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले केशलिया करिडोर निर्माण र केशलिया खोलाको बाढी नियन्त्रण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका हुन्।

मुख्यमन्त्री कार्कीले अर्बौँ रुपैयाँ बजेट आवश्यक पर्ने भएकाले डिपीआर लगायतका काम सम्पन्न भए पनि बजेट अभावका कारण पूर्वाधार निर्माणको काम सुरु गर्न नसकिएको स्पष्ट पारे।

मुख्यमन्त्री कार्कीले भने ‘केशलिया करिडोर सरकारको प्राथमिकतामा भए पनि आवश्यक बजेटको स्रोत सुनिश्चित गर्न नसकेका कारण काम अघि बढाउन सकिएको छैन।’

मुख्यमन्त्री कार्कीले केशलियाको बाढीले मोरङ र सुनसरी दुवै तर्फ क्षति पुर्‍याइरहेको भए पनि बाढी नियन्त्रण र करिडोर निर्माणका लागि अर्बौँ रुपैयाँ आवश्यक पर्ने भएकाले प्रदेश सरकार, सङ्घीय सरकार र स्थानीय पालिका तथा दातृ निकायहरूको सहयोगमा मात्रै अघि बढाउन सकिने अवस्था रहेको जनाए।

आर्थिक स्रोत सुनिश्चित गरेर चाँडै प्रदेश सरकारले करिडोर निर्माणको काम थाल्ने मुख्यमन्त्री कार्कीले स्पष्ट पारे।

केशलिया करिडोर निर्माणको काम अघि बढाउन माग गर्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले गत असोजमा आमरण अनशनसमेत बसेका थिए। केशलिया करिडोर निर्माणको काम अघि बढाउने सहमतिपछि कार्कीले आमरण अनशन स्थगित गरेका थिए।

केशलिया खोलाको बाढीले बर्खा याममा विराटनगर विमानस्थल लगायत पश्चिमतर्फका गाउँबस्ती डुबानमा पार्ने गरेको छ।

मुख्यमन्त्री कार्कीले मोरङ र सुनसरीका विभिन्न पालिकालाई समेटेर बृहत् विराट क्षेत्र घोषणा गरिए पनि कार्यान्वयन हुन नसकेकाले आगामी वर्षको बजेटबाटै कार्यान्वयन थालिने बताए।

कार्कीले विराटनगरको आसपासमा आधुनिक पूर्वाधारसहितको नयाँ विराटनगर निर्माणका लागि जग्गाको खोजी भइरहेको जानकारी दिए।

विराटनगरको आसपासमा नयाँ विराटनगर निर्माणका लागि जग्गाको खोजी भइरहेको र जग्गा भेटिएपछि नयाँ सहर निर्माण प्रक्रिया सुरु हुने बताए। कार्कीले विराटनगर महानगरपालिकालाईसमेत जग्गा खोज्न प्रदेश सरकारले आग्रह गरेको बताए।

मुख्यमन्त्री कार्कीले विराटनगरको आसपासको क्षेत्रमा ल्याण्डपुलिङमार्फत नयाँ सहर विकास गर्ने र प्रदेश सरकारका संरचनाहरू पनि निर्माण गर्नेगरी आवश्यक जग्गाको खोजी सुरु गरिसकेको दाबी गरे।

मुख्यमन्त्री कार्कीले प्रविधि र विज्ञानको रिसर्च गर्ने गरीको संरचना आवश्यक रहेको प्रदेश सरकारले महसुस गरेको सुनाए।

उनले एभरेष्ट साइन्स सेन्टरसँग सहकार्य गरेर दक्षिण एसियाकै नमुना साइन्स सेन्टर बनाउने विषयमा पनि प्रदेश सरकारले छलफल थालेको जानकारी दिए।

कार्यक्रममा बर्जू गाउँपालिकाका अध्यक्ष जिवछकुमार रायले केशलिया करिडोर र बृहत् विराटक्षेत्रको अवधारणा कार्यान्वयनमा ल्याउन प्रदेश सरकारलाई आग्रह गरे। केशलिया करिडोर निर्माण गरी बाढीबाट बर्जू गाउँपालिकाका विभिन्न वडाहरूलाई बचाउन रायले मुख्यमन्त्री कार्कीसँग माग गरे।

कार्यक्रममा एभरेष्ट साइन्स सेन्टरका अध्यक्ष दिलीप अधिकारीले विज्ञान र प्रविधिमा विद्यार्थीहरूको रुचि जगाउन सेन्टरले तीन दिने कार्यशाला आयोजना गरेको जानकारी दिए।

कार्यशालामा मोरङ, कपिलवस्तु, सुर्खेतलगायतका विभिन्न स्थानबाट विद्यार्थीहरू सहभागी छन्। 

प्रकाशित: १६ माघ २०८१ २०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App