७ फाल्गुन २०८१ बुधबार
image/svg+xml १५:५६ अपराह्न
समाज

डा.ओम मूर्ति अनिलद्वारा छात्रवृत्तिको घोषणा

मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त रकममध्ये २० लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने भएको छ । डा. अनिलद्वारा स्थापित ‘डा. ओम फाउन्डेसन’ले सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलको शिक्षामा योगदान पु¥याउनका निम्ति उक्त छात्रवृत्तिका रकम छुट्टाएको हो ।

बुधबार पत्रकार सम्मेलनमार्फत् डा.अनिलले छात्रवृत्तिको घोषणा गर्नुभयो । ‘जीवन्त सम्बन्ध पुस्तकका पाठकहरूबाट प्राप्त रकम गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षामा खर्च गर्न पाउँदा खुशी लागेको छ ।’ डा. अनिलले पत्रकार सम्म्मेलनमा भन्नुभयो–‘छात्रवृत्ति दिन पाठकहरुको पनि महत्वपूर्ण भूमिका रहेकाले समग्र पाठकहरुप्रति मेरो विशेष आभार छ ।’

छात्रवृत्तिका लागि माघ १६ गतेदेखि फागुन ४ गतेसम्म कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीसँग देशैभरीबाट आवेदन माग गरिने फाउन्डेसनले जनाएको छ । उक्त छात्रवृत्तिमा सहभागी हुन फाउन्डेसनको वेबसाइट www.dromfoundation.com मा रहेको ‘छात्रवृत्ति फारम’ भरेर आवेदन दिन सकिने छ । प्राप्त आवेदनलाई फाउन्डेसनले यकिन गरेर अन्तिम नामवली तयार गरेर प्राथमिकताका आधार छात्रवृत्ति वितरण गरिने फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनका अनुसार छनोट भएका विद्यार्थीसँग सम्र्पक गरी छात्रवृत्तिको रकम विद्यार्थी स्वयम्को बैंक खाता वा अभिभावकको खातामा सिधैं जम्मा गरिदिने छ । छात्रवृत्ति प्राप्त गर्नका लागि विद्यार्थी स्वयम्, विद्यालय वा अभिभावकले आवेदन दिन फारम भर्न सक्नेछन् । तर, आवेदनसहित विद्यार्थीको अघिल्लो कक्षाको ग्रेडसिट, परिचयपत्र, तथा विद्यार्थीको शैक्षिकस्तरसम्बन्धी विद्यालयको सिफारिस लगायतका कागजात संलग्न गर्नुपर्नेछ ।

गत वर्ष प्रकाशित ‘जीवन्त सम्बन्ध’ पुस्तकमा चिकित्सक तथा लेखक डा। ओम मूर्ति अनिलले पिताको स्मरणमा सम्बन्धहरूको गहिराईलाई स्पष्ट पारेर लेख्नुभएको छ । ५३ खण्ड र २३१ पृष्ठमा समेटिएको गैरआख्यानमुलक सो पुस्तकममा बुबा–आमा र सन्तानबीचको सम्बन्धलाई मिहीन ढंगबाट केलाइएको छ । उक्त पुस्तकले असंख्यक पाठकको मन जित्न सफल हुँदै आएको छ ।

‘जीवन्त सम्बन्ध’ पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका निम्ति स्थापित ‘डा। ओम फाउन्डेसन’मार्फत् खर्च गर्ने डा। ओम मूर्ति अनिलले यसअघि नै घोषणा गर्नुभएको थियो । फाउन्डेसनले हालसम्म विभिन्न ठाउँमा गरी सात वटा निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरी १६ सय जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको छ । उक्त शिविरमा विभिन्न जाँच गर्नुका साथै आवश्यक औषधिसमेत निःशुल्क प्रदान गरेको थियो ।

त्यस्तै धुम्रपानविरुद्धका अभियानमा सातै प्रदेशका हजारौं विद्यार्थीहरुलाई सहभागी गराई हाजिरी जवाफ, चित्रकला, कविता प्रतियोगिता सञ्चालन गरेको थियो । सन् २०२४ मा धुम्रपानविरुद्धकै अभियानमा १७ सय जनाभन्दा बढीलाई धुम्रपान तथा सूर्ती सेवनको लत छुटाउन फाउन्डेसनले महत्वपूर्ण भूमिका खेलेको थियो ।

यसैगरी फाउन्डेसनले समाजका विभिन्न वर्गलाई सीपीआर तालिम प्रदान गरी आकस्मिक रुपमा हुने स्वास्थ्य जटिलता र पीडितको जीवन रक्षा गर्न सहयोग गर्ने ज्ञान प्रदान गर्दै आएको छ । यस वर्ष फाउन्डेसनले विपन्न तथा सिमान्तकृत समुदायका ३५० घरपरिवारलाई कम्बल ९ब्लाङ्केट० वितरण गरेको छ ।

छात्रवृत्ति कार्यक्रममा अन्य कुनै व्यक्ति वा संस्थाले फाउन्डेसनमार्फत् थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने इच्छा व्यक्त गरेमा त्यसका निम्ति फाउन्डेसनले सहजीकरण गरिदिने पनि जनाएको छ ।

प्रकाशित: १६ माघ २०८१ १८:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App