सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तीनवटा अदालतले धरौटीमा रिहा हुन आदेश दियो। उनलाई पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्की, कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौं र बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा हुन आदेश दिएको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा रविलाई ६५ लाख धरौटीमा रिहा हुन आदेश भएको थियो। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई गत पुस २५ गते ६५ लाख धरौटीमा रिहा हुन आदेश दिएको थियो ।
रविको खातामा विभिन्न समयमा विभिन्न चेकमार्फत सहकारीको रकम जम्मा भएको देखिएको र फिर्ता पनि भएको पनि देखिएकाले उनलाई निर्दोषी भन्न नसकिने कुरा अदालतले भनेको थियो। सँगै जिल्ला अदालत कास्कीले धरौटी बुझाएर रिहा हुन आदेश दिएलगत्तै रवि बैंक ग्यारेन्टी देखाएर रिहा भएका थिए। ६५ लाख धरौटीको ग्यारेन्टी प्रभु बैंकले गरेपछि उनी रिहा भएका थिए।
पोखराबाट धरौटीमा छुटेका रविलाई छुट्नेबित्तिकै पुन: फक्राउ गरिने आकलन भइरहेको थियो। तर, त्यसो भएन। उनलाई आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने वचनबद्धता गरेपछि छाडिएको थियो। त्यसको तीन दिनपछि उनी अदालतमा उपस्थित पनि भए।
काठमाडौं जिल्ला अदालतले पनि उनलाई धरौटीमा छाड्न आदेश थियो। माघ २ गते न्यायाधीश माधवप्रसाद अधिकारीको थुनछेक इजलासले लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
“...प्रस्तुत वारदातमा कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएकाले प्रस्तुत मुद्दाको प्रकृतिसमेतलाई मध्यनजर राखी मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट रु. ६०,००,०००– (साठ्ठी लाख रुपैयाँ नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारिखमा राख्नू। साथै फरार रहेका प्रतिवादीहरूको हकमा यसै अदालतबाट पक्राउ पूर्जी जारी गरी पक्राउ भई आएपछि वयानका लागि पेश गर्नू,“ आदेशमा भनिएको थियो ।
काठमाडौं जिल्ला अदालतको आदेशलगत्तै रवि बैंक ग्यारेन्टी देखाएर रिहा भएका थिए। त्यहाँ पनि उनको ६० लाख धरौटीको ग्यारेन्टी प्रभु बैंकले नै गर्यो।
काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेपछि रवि जिल्ला अदालत रुपन्देही उपस्थित भएका थिए। बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा आइतबार उनलाई १ करोड धरौटीमा छाड्न आदेश भएको थियो। जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा धरौटीमा छाड्न आदेश गरेको थियो।
योगीको इजलासले दिएको आदेशमा मिसिलसम्बन्धी तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ७४ बमोजिम एक करोड नगद धरौटी, जायजेथा जमानत वा सर्तरहित बैंक ग्यारेन्टी लिई तारेखमा राख्नू, बुझाउन नसके पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ भनिएको छ।
आइतबार रुपन्देही अदालतले मागेको एक करोड रुपैयाँ धरौटीको बैंक ग्यारेन्टी पनि प्रभु बैंकले नै गर्यो। यसपछि उनी रिहा भएका छन्।
कास्की, काठमाडौं र रुपन्देहीमा गरी धरौटीबापत् रविले जम्मा दुई करोड २५ लाख तिरेका छन्। यी सबै रकमको बैंक ग्यारेन्टी प्रभु बैंकले नै गरेको छ।
यसबाहेक पोखराको ६५ लाख बदर हुनुपर्ने माग गर्दै रवि सोमबार (आज) मात्रै निवेदन लिएर उच्च अदालत पोखरा पुगेका छन्। निवेदनमा उनले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै आफू व्यक्तिगत चरित्रहत्या गराउने प्रपञ्चको शिकार हुन पुगेको जिकिर गरेका छन्।
प्रकाशित: १४ माघ २०८१ १७:३१ सोमबार