नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले त्रिकोणात्मक टी-२० श्रृंखलाका लागि टोली पूर्ण सन्तुलित रहेको बताउँदै उपाधि जित्ने लक्ष्य राखेकी छन्।
नेपालले बिहीबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्स र थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेलअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा कप्तान इन्दुले हालै सम्पन्न प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू तथा यु-१९ महिला विश्वकपकी कप्तान पूजा महतोसहित दुई युवा खेलाडी टोलीमा रहेकाले नेपाल मजबुत रहेको बताइन्।
उनका अनुसार टोली सन्तुलित मात्र नभई उत्कृष्ट खेल प्रदर्शन गर्ने लक्ष्यमा छ।
कप्तान इन्दुले यो श्रृंखला ब्याटिङ सुधारका लागि महत्वपूर्ण रहेको बताउँदै घरेलु दर्शकलाई मैदानसम्म आएर महिला क्रिकेटलाई हौसला प्रदान गर्न आग्रह गरिन्।
घरेलु मैदानमा खेल्नुको फाइदा रहने विश्वास व्यक्त गर्दै उनले नेपालकी यु-१९ टोलीले विश्वकपमा देखाएको प्रदर्शनलाई सिनियर टोलीका लागि प्रेरणा बन्ने उल्लेख गरिन्।
थाइल्याण्ड महिला टोलीकी कप्तान नारुइमोल चाइवाईले उपाधि जित्ने लक्ष्यसहित उत्कृष्ट खेल प्रदर्शन गर्ने बताइन्। नेदरल्याण्ड्सकी कप्तान बेबेट्टे डी लिडेले नेपालमा क्रिकेट खेल्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिइन्।
नेपालले बिहीबार नेदरल्याण्ड्सविरुद्ध खेल्दै श्रृंखलाको सुरुवात गर्नेछ।
प्रकाशित: १६ माघ २०८१ २०:२४ बुधबार