इजरायलले बिहीबार हमासको बन्धकबाट मुक्त हुनेहरुको सूची प्राप्त गरेको छ।
बुधबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले गाजा युद्धविराम सम्झौताअन्तर्गत हमासले बिहीबार रिहा गर्न लागेको बन्धकहरूको सूची प्राप्त भएको जनाएको छ।
‘इजरायलले हमासको कब्जामा रहेका र भोलि रिहा गरिने भनिएका बन्धकहरूको सूची प्राप्त गरेको छ,’ प्रधानमन्त्री कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
साथै, थप विवरणहरू सम्बन्धित परिवारलाई जानकारी गराएपछि सार्वजनिक गरिने जनाइएको छ।
नेता न्याहुले तीनजना बन्धक बिहीबार र अर्को तीनजना शनिबार रिहा गरिने घोषणा गरेका थिए। बिहीबार रिहा गरिने दुई बन्धक अर्बेल येहुड र अगम बर्गर रहेको जनाइएको छ। भने तेस्रो बन्धकको पहिचान खुलाइएको छैन।
इजरायली अधिकारीहरूले गत शनिबार दोस्रो चरणको बन्धक-प्रिजनर साटासाट प्रक्रियामा येहुडको रिहाइको माग गरेका थिए। यो साटासाट अन्तर्गत उत्तरी गाजाका हजारौं विस्थापितहरूलाई आफ्नै घर फर्कने अनुमति दिइएको थियो।
इस्लामिक जिहाद नामक लडाकु समूहले येहुडको भिडियो सार्वजनिक गर्दै उनी ‘सुरक्षित र राम्रो अवस्थामा रहेको’ दाबी गरेपछि मात्रै इजरायलले सोमबारदेखि उत्तरी गाजाका बासिन्दालाई घर फर्कन दिन थालेको थियो।
एक मिनेट लामो भिडियोमा येहुड तनावग्रस्त देखिएकी थिइन्। उनले आफ्नो नाम, मिति (जनवरी २५) बताउँदै प्रधानमन्त्री नेतान्याहुलाई गाजामा रहेका बाँकी बन्धकहरूलाई रिहा गराउन ‘जे गर्नुपर्छ, त्यो गर्न’ अपिल गरेकी थिइन्।
अर्का बन्धक बर्गर इजरायली सैनिक हुन्। जसलाई हमासले २०२३ अक्टोबर ७ मा गाजा सीमा क्षेत्रमा आक्रमण गर्ने क्रममा कब्जा गरेको थियो।
प्रकाशित: १६ माघ २०८१ २१:०७ बुधबार