१४ माघ २०८१ सोमबार
image/svg+xml
राजनीति

दाङ पुगेर दाहालले भने: गल्ती सच्याउँछौँ, ८४ मा बहुमत पुर्‍याइदिनुस्

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूहरूले 'गल्ती सच्याउने' भन्दै २०८४ को निर्वाचनमा मत दिन दाङवासीसँग अपिल गरेका छन्।

दाङको तुलसीपुरमा माओवादीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले विगतमा आफूहरूबाट भएका गल्तीहरूको समीक्षा गर्दै अब सच्च्चिएर अगाडि बढ्ने प्रतिबद्धता गरे। 'हिजो हामीबाट कमजोरीहरू भए, त्यसको समीक्षा मैले राम्रोसँग गरेको छु,' दाहालले भने, 'अब हामी हाम्रा गल्ती सच्याउँछौँ, तपाईँहरूले २०६४ कै जस्तै मत दिनुस्, ०८४ मा हामिलाई बहुमत पुर्याइदिनुस्।'

उनले माओवादीमा भएको छिन्नभिन्न, नागरिकका पक्षमा हुन नसकेका विभिन्न कामहरूको जिम्मेवारी लिँदै त्यो गल्ती आफूहरूबाट भएको स्वीकारेका थिए। माओवादी गल्ती सच्याएर अघि बढ्ने भन्दै दाहालले समानताको यात्रा तथा समृद्धिका लागि माओवादीलाई बहुमत पुर्याउनै पर्ने जिकिर गरे। '०६४ को जस्तै मत फेरि हामिलाई चाहियो, ०८४ मा त्यस्तै मत दिनुस्,' दाहालले भने, 'समानताको यात्रा र समृद्धिको युग बनाउनका लागि माओवादी बहुमतसहितको शक्ति बन्नै पर्छ, अरूबाट यो सम्भव छैन।'

यसैगरी दाहालले वर्तमान सरकार अवैधानिक रहेको पनि उल्लेख गरे। संविधानको धारा ७६ (२) अनुसार बनेको वर्तमान सरकारलाई अवैधानिक भनेका दाहालले संविधान मिचेर बनेको सरकारले राजनीतिक प्रतिशोध साँधेर दु:ख दिने काम गरिरहेको आरोप लगाए। 'राजनीतिक प्रतिशोध साँधेर मान्छेलाई विभिन्न आरोप लगाएर दु:ख दिने, सताउने काम यो सरकारले गरिरहेको छ,' दाहालले भने, 'ख्याल गर्नु होला, गठबन्धनवालाले हामीलाई खुलेआम बेच्न सक्छन्, यिनीहरूले हामीलाई बेचेर खाने भए।'

यसैगरी उनले कारबाहीको त्रासकै कारण वर्तमान गठबन्धन बनेको समेत जिकिर गरे।

प्रकाशित: ११ माघ २०८१ १६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App