मदन भण्डारी कला साहित्य प्रतिष्ठानले तीन दिने हिमवत् खण्ड कला साहित्य सम्मेलन २०८१ गर्ने भएको छ। आउँदो चैत १ देखि ३ गतेसम्म काठमाडौँमा उक्त सम्मेलन हुन लागेको हो। मदन भण्डारी कला साहित्य प्रतिष्ठानले पाँच वर्षमा दोस्रो पटक यो सम्मेलन गर्न लागेको हो।
विश्वको सर्वोच्च शिखर सगरमाथा नै केन्द्रबिन्दु रहेको र यसका वरिपरि भएका हिमवत् खण्डका मध्यमा रहेका हिमशिखरहरू र यस परिधिका मानवका निम्ति हिमाली सभ्यताका पहिलो स्रोत भएको तथा ऋग्वेद कालदेखि नै सभ्यताको आधारभूमि बन्दै आएको पूर्व पश्चिम तथा उत्तर दक्षिणका समुद्रको तलसम्म विस्तारित यस खण्डलाई व्यापक अर्थमा हिमवत् खण्डका रूपमा लिने गरिएकाले प्रतिष्ठानले यो सम्मेलन आयोजना गर्न लागेको प्रतिष्ठानका अध्यक्ष विजय सुब्बाले जानकारी दिए।
यसअघिको सम्मेलनमा नेपाल, भारत, बर्मा, श्रीलंका, पाकिस्तान, बेलायतलगायत मुलुकका ६० भन्दा बढी स्रष्टाले भाग लिएका थिए। त्यति बेला हिमवत् खण्ड र साहित्यसम्बन्धी कार्यपत्र प्रस्तुति, जननेता मदन भण्डारीको वृत्तचित्र प्रदर्शनी, बहुभाषिक कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम हुनाका साथै चन्द्रागिरि अवलोकन र स्थलगत सिर्जना लेखन र प्रस्तुति गरिएको थियो।
प्रकाशित: १४ माघ २०८१ १०:१७ सोमबार