१६ माघ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुमा ४५ हजार किशोरीलाई एचपिभी खोप

पाठेघर क्यान्सर नियन्त्रणका लागि कपिलवस्तु जिल्लाका झण्डै ४५ हजार किशोरीलाई एचपिभी खोप लगाइने भएको छ।

१० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई माघ २२ देखि फाल्गुण ६ गतेसम्म सञ्चालन हुने खोप अभियानमार्फत खोप दिने तयारी गरिएको छ।

जिल्लाका ४४ हजार ४७१ किशोरीलाई खोप दिने लक्ष्य राखिएको कपिलवस्तु स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले जानकारी दिए। तीमध्ये विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका ३६ हजार ७५६ किशोरी र विद्यालयबाहिर रहेका ७ हजार ७१४ किशोरी रहेका छन्।

अभियान सफल बनाउन ५७३ खोप केन्द्र स्थापना गरिनेछ। प्रत्येक केन्द्रमा एकजना भ्याक्सिनेटर र दुईजना स्वयम्सेवक रहने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयका खोप अधिकृत दिवाकर महर्जनले बताए।

खोप अभियान दुई चरणमा सञ्चालन गरिनेछ। पहिलो चरणमा माघ २२ देखि २८ गतेसम्म कपिलवस्तु, कृष्णनगर, शिवराज नगरपालिका तथा विजयनगर र यशोधरा गाउँपालिकाका विद्यालयहरूबाट खोप लगाइनेछ।

दोस्रो चरणमा माघ २९ देखि फाल्गुण ६ गतेसम्म वाणगंगा, बुद्धभूमि, महाराजगञ्ज नगरपालिका तथा मायादेवी र शुद्धोधन गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुनेछ।

विद्यालयमा एकजना महिला स्वयंसेविका र एकजना शिक्षिका खटाइने योजना रहेको छ।

महिलाहरूमा हुने पाठेघर क्यान्सर विश्वभर नै गम्भीर जनस्वास्थ्य समस्या मानिन्छ। नेपालमा क्यान्सरका कारणले हुने महिलाको मृत्युमा पाठेघर क्यान्सर पहिलो स्थानमा छ। प्रत्येक वर्ष नेपालमा २,१६९ महिलामा यो रोग देखिने गरेको छ भने १,३१३ जनाको मृत्यु हुने तथ्यांक छ।

एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) पाठेघरको मुखको क्यान्सरको मुख्य कारण हो। यो भाइरसका २०० भन्दा बढी प्रकार छन्, जसमा १२ प्रकार क्यान्सर गराउने मुख्य कारक मानिन्छन्। विशेषगरी १६ र १८ प्रजातिका भाइरस नेपालमा ८० प्रतिशत क्यान्सरका घटनामा जिम्मेवार मानिन्छन्।

नेपाल सरकारले नियमित कार्यक्रम र विशेष अभियानमार्फत देशभर १६ लाख ८८ हजार ७६८ किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य राखेको छ। लुम्बिनी प्रदेशमा मात्र दुई लाख ९९ हजार ४७१ किशोरीलाई खोप लगाइनेछ।

एचपिभी भाइरस के हो?

एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारण हो। यो भाइरसका २०० भन्दा बढी प्रकार हुन्छन्।

तीमध्ये १६ र १८ प्रजाति सबैभन्दा घातक मानिन्छन्। नेपालमा हरेक दिन औसतमा चार महिलाको मृत्यु पाठेघर क्यान्सरका कारण हुने गरेको छ।

प्रकाशित: १४ माघ २०८१ २१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App