पोखरा रंगशालामा जारी पाचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आइतबार ४ खेल सम्पन्न भएका छन्।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा शनिबारदेखि जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, भारतको सुनिल भलिबल क्लब र नेपाल पुलिस क्लब तथा महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएका हुन्।
प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। आर्मीले एपीएफलाई २५–१८, २५–२३ र २५–१५ ले पराजित गर्न सफल भएको हो।
अर्को खेलमा आयोजक गण्डकी प्रदेशलाई नेपाल पुलिस क्लबले ३–२ को सेटमा पराजित गर्दै विजयी यात्रा सुरुवात गरेको थियो।
पहिला दुई सेट गुमाएको गण्डकीले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपनि पाँचौं सेटमा सम्हालिन नसक्दा खेल गुमाउनुपर्यो।
पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो। गण्डकीले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१४ ले जितेको थियो।
यस्तै, पुरुषतर्फकै अर्को खेलमा भारतको सुनिल भलिबल क्लबले साबिक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३–१ को सेटमा पराजित गर्दै विजयी यात्रा सुरु गरेको छ।
आइतबार दिउँसो भएको खेलमा भारतको सुनिल भलिबल क्लबले पहिलो सेट गुमाए पनि त्यसपछिको सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो।
भारतको सुनिल भलिबल क्लबले आर्मीलाई २२–२५, २५–२३, २७–२५ र २५–१६ ले पराजित गर्दै खेल आफ्नो पक्षमा पारेको हो।
यसअघि आइतबार बिहान भएको पहिलो खेलमा महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखराले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्यो।
आयोजक पोखराले आर्मीलाई २५–१४, २५–११ र २५–२१ ले पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो।
प्रतियोगिता अन्तर्गत सोमबारदेखि लिग चरणका खेलहरू हुनेछन्। जस अन्तर्गत विजयी भएका र पराजित टिमहरूबिच लिग खेलहरू हुने कार्यक्रम संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए।
प्रकाशित: १३ माघ २०८१ २२:२२ आइतबार