खोटाङको साकेला गाउँपालिकामा सञ्चालन भएको ‘आठौँ अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड-२०८२’ को उपाधि राधाकृष्ण माध्यमिक विद्यालयले जितेको छ।
साकेला–१ बाँझेच्यानडाँडास्थित राधाकृष्ण माविले गत वर्षको उपाधि रक्षा गर्दै यस वर्ष पनि शिल्ड आफ्नो पोल्टामा पारेको हो।
प्रतियोगितामा राधाकृष्ण माविले ७ स्वर्ण, ७ रजत र ४ कास्य गरी कुल १८ पदक जित्दै प्रथम स्थान हासिल गरेको छ।
प्रतियोगितामा साकेला माध्यमिक विद्यालय रतन्छाले दोस्रो स्थान हासिल गरेको छ। साकेलाले ७ स्वर्ण, ३ रजत र ६ कास्य गरी १६ पदक जितेको छ। यस्तै, ५ स्वर्ण, ६ रजत र ५ कास्यसहित १६ पदक हात पार्दै बालबालिका मावि नौलाखर्क तेस्रो भएको छ।
सिद्धेश्वरी मावि खिदिमा ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित चौथो (कुल १७ पदक) भएको छ भने सरस्वती मावि मात्तिमबिर्ता १ स्वर्ण, १ रजत र १ कास्य जित्दै पाँचौँ स्थानमा सीमित भयो।
प्रतियोगिता व्यवस्थापनको जिम्मा पाएको चण्डेश्वरी मावि डाँडागाउँले ३ रजत र २ कास्य पदकमा चित्त बुझाउँदै छैटौँ स्थान ओगटेको छ।
गाउँपालिकाभित्रका ६ वटा माध्यमिक विद्यालयका छात्रछात्रा सहभागी प्रतियोगितामा भलिबल र एथ्लेटिक्सतर्फ प्रतिस्पर्धा गराइएको थियो।
एथ्लेटिक्सअन्तर्गत हाइजम्प, लङजम्प, सटफुट, ज्याभ्लिङ थ्रो र ट्रिपल जम्प समावेश थिए। यस्तै दौडतर्फ १००, २००, ४००, ८०० र १५०० मिटर तथा १०० र ४०० मिटर रिले दौडमा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा कुल २५ स्वर्ण, २५ रजत र २५ कास्य पदकका लागि भिडन्त भएको थियो।
गत बुधबारदेखि बाँझेच्यानडाँडास्थित खेलमैदानमा सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो। समापन समारोहमा गाउँपालिका अध्यक्ष रविप्रकाश राई, उपाध्यक्ष बिर्सिका राई र वडाध्यक्ष हेमन राई लगायतले विजेता विद्यालय तथा खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे।
गाउँपालिकाका सूचना अधिकारी डिएम चामलिङ राईका अनुसार प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटबाट ३ लाख रुपैयाँ विनियोजन गरेको थियो। अपुग रकम वडा कार्यालय बाँझेच्यानडाँडाले १ लाख रुपैयाँ थप गरी कुल ४ लाखको लागतमा प्रतियोगिता सम्पन्न गरिएको हो।
प्रकाशित: २४ माघ २०८२ २२:२८ शनिबार





-600x400.jpg)