२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

जुम्लामा निर्वाचन सुरक्षा: ५२ मतदानस्थल ‘अति संवेदनशील’, ७० प्रतिशत अनुगमन सम्पन्न

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै जुम्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वको जिल्ला सुरक्षा समितिले मतदानस्थल र मतदान केन्द्रहरूको अनुगमन तथा जोखिम विश्लेषणलाई तीव्र बनाएको छ।

भौगोलिक विकटता र सुरक्षा संवेदनशीलताका आधारमा जिल्लाका ५२ वटा मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार हालसम्म जिल्लाका १ सय १० मतदान केन्द्रमध्ये ७० प्रतिशतको स्थलगत अनुगमन सकिएको छ।

अनुगमन टोलीले मतदान केन्द्रको भौतिक अवस्था, सुरक्षा चुनौती, मतपेटिका व्यवस्थापन, सडक सञ्जाल, सञ्चार सुविधा, खानेपानी र विद्युत्को अवस्थाबारे जानकारी लिएको छ।

‘मतदानस्थल र केन्द्रको नियमित अनुगमन भइरहेको छ,’ प्रजिअ पौडेलले भने, ‘जहाँ जे अभाव र समस्या देखिएको छ, त्यसको समाधानका लागि तत्काल सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको छ।’

जिल्ला सुरक्षा समितिले भौगोलिक विकटता, सञ्चारको पहुँच र विगतका घटनाक्रमलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी रबिनबाबु रेग्मीका अनुसार जिल्लाभर रहेका ८५ मतदानस्थलमध्ये ५२ वटा अति संवेदनशील, १८ वटा संवेदनशील र १५ वटा सामान्य सूचीमा छन्।

यस्तै, १ सय १० मतदान केन्द्रमध्ये ६४ लाई अति संवेदनशील, २५ लाई संवेदनशील र २१ वटालाई सामान्यमा वर्गीकरण गरिएको छ। सोही वर्गीकरणका आधारमा सुरक्षा रणनीति तय गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिने प्रशासनले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कंडेलका अनुसार जिल्लामा कुल ७१ हजार ७ सय ३९ मतदाता रहेका छन्। जसमा ३७ हजार ४ सय ५९ पुरुष र ३४ हजार २ सय ८० महिला छन्।

पालिकागत विवरण अनुसार चन्दननाथ नगरपालिकामा सबैभन्दा बढी १२ हजार ९ सय ४१ मतदाता छन् भने सबैभन्दा कम गुठीचौर गाउँपालिकामा ६ हजार ९ सय ४३ मतदाता छन्।

यस्तै, कनकासुन्दरीमा ९ हजार ४ सय ४१, तातोपानीमा ९ हजार ८ सय ३८, पातारासीमा ८ हजार ९ सय ४२, सिञ्जामा ८ हजार ४ सय ७७, तिलामा ८ हजार ४ सय ६६ र हिमा गाउँपालिकामा ६ हजार ६ सय ९५ मतदाता रहेका छन्।

निर्वाचन नजिकिएसँगै जिल्लामा १० जना उम्मेदवारहरू चुनावी एजेन्डासहित घरदैलोमा व्यस्त छन्। कामको सिलसिलामा बाहिरिएका मतदाता गाउँ फर्किने क्रम बढेको छ। तर, हिमाली जिल्ला भएकाले चिसो मौसम मतदाता र कर्मचारी व्यवस्थापनका लागि चुनौती बनेको छ।

प्रजिअ पौडेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै भयरहित वातावरणमा मतदान सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेका छन्। अनुगमनमा प्रजिअ पौडेलसहित डिएसपी रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर बोहरा र प्रमुख अनुसन्धान अधिकृत लक्ष्मण चौधरीलगायतको सहभागिता रहेको छ।

प्रकाशित: २४ माघ २०८२ २२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App