‘भ्रष्टाचारी नेता तयता खुसी चुयका छोयनू’ (भ्रष्टाचारी नेताहरूलाई खोलाबाट बगाइदेऔं)
शनिबार भक्तपुरको महालक्ष्मीस्थानमा यो गीत गुञ्जिदा उपस्थित दर्शकदीर्घाबाट तालीको गडगडाहट सुनियो।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को ५२औं स्थापना दिवसको अवसरमा आयोजित ‘भक्तपुर नगरव्यापी प्रगतिशील गीत प्रतियोगिता’ मा यस्तै क्रान्तिकारी र जनवादी गीतहरूले दिनभर माहौल ततायो।
नेमकिपा भक्तपुर नगरपालिका-१० समितिले आयोजना गरेको प्रतियोगितामा २३ वटा सांगीतिक समूहले भाग लिएका थिए।
प्रतियोगितामा ‘जाग उठ युवा हो, जाग जनता’, ‘पोचिङ तयमेत झिगु ल्हा’ (बाँधेर नबसौं हाम्रो हात), ‘रगतले बनेको हो देश’, ‘कहाँ छ र संसार हाँसेको’ लगायतका शीर्षकमा गीतहरू प्रस्तुत गरिएका थिए।
नेपाली र नेपाल भाषा (नेवारी) दुवै माध्यममा प्रस्तुत गीतहरूले समसामयिक राजनीति र भ्रष्टाचारविरुद्ध व्यङ्ग्य कसेका थिए।
आयोजक समितिका अध्यक्ष लक्ष्मी चवालका अनुसार प्रतियोगितामा रेकर्डेड ट्र्याकको प्रयोग निषेध गरिएको थियो। सहभागीहरूले मौलिक वाद्यवादनसहित प्रत्यक्ष प्रस्तुति दिनुपर्ने नियम बनाइएको थियो।
‘प्रगतिशील तथा समसामयिक विषयवस्तु, परम्परागत लय र तीन अन्तरासम्मका गीतलाई प्राथमिकतामा राखेर मूल्यांकन गरिएको छ,’ अध्यक्ष चवालले भने।
एक समूहमा वाद्यवादक र गायकसहित ५ देखि १२ जनासम्म सहभागी हुन पाउने र प्रस्तुतिको समय ५ मिनेट तोकिएको थियो। तोकिएको समयभन्दा बढी लिएमा अंक कटौती हुने व्यवस्था थियो।
गीतको मूल्यांकन शब्द संयोजन, सांगीतिक लय, सुर-ताल, अनुशासन र भाव सम्प्रेषणका आधारमा गरिएको थियो।
प्रतियोगितामा प्रथम हुने समूहलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो। त्यस्तै, सान्त्वना पुरस्कारस्वरूप २ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।
गीत–संगीतका माध्यमबाट जनतामा राजनीतिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ।
बिहानदेखि चलेको प्रतियोगिता अवलोकन गर्न सयौं स्थानीयको उपस्थिति थियो।
प्रकाशित: २४ माघ २०८२ २१:५८ शनिबार





