ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणलाई लिएर विवाद उत्कर्षमा पुगेको छ। शनिबार पाथीभरा क्षेत्रमा भएको झडप र गोली प्रहारको घटनापछि ‘नो केवलकार’ पक्षधरहरूले सात बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका छन्।
मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ संघीय समिति, थरगत संस्था सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान संघले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।
आन्दोलनका कार्यक्रम अनुसार माघ १५ गतेदेखि मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा यातायात बन्द गरिनेछ।
पाथीभरा (मुक्कुमलुङ) दर्शन केवलकार प्रालिका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा रहेको ग्लोबल आईएमई बैंकका ताप्लेजुङदेखि सुनसरीसम्मका शाखाहरू बन्द गर्नुपर्ने माग पनि राखिएको छ।
साथै, माघ १४ गते ग्लोबल आईएमई बैंकमा शान्तिपूर्ण प्रदर्शन गरिने छ। आन्दोलनकारीहरूले ढकाल र पाथीभरा (मुक्कुमलुङ) दर्शन केवलकार प्रालिका जनसम्पर्क अधिकृत रुद्र पौडेललाई ताप्लेजुङ जिल्लामा निषेध गर्ने घोषणा गरेका छन्।
फुङलिङ नगरप्रमुख अमिर मादेनलाई ‘वंशगद्दार’ घोषणा गर्दै उनलाई ताप्लेजुङ जिल्लाबाहिर निषेध गर्नुपर्ने माग समेत राखिएको छ।
उनीहरूले पाथीभरा क्षेत्र विकास समितिलाई खारेज गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी प्रमुखले सार्वजनिक रूपमा माफी माग्नुपर्ने उल्लेख गरेका छन्।
शनिबार पाथीभरा क्षेत्रमा केवलकारको विरोध गरिरहेका समूह र सुरक्षाकर्मीबीच दुई चरणमा झडप भएको थियो।
पहिलो झडपमा सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेका थिए भने दोस्रो चरणको झडपमा आत्मरक्षाका लागि गोली प्रहार गरिएको बताइएको छ।
घटनामा केवलकारको विरोध गरिरहेका समूहका तीनजना गोली लागेर गम्भीर घाइते भएका छन्, उनीहरुको उपचार काठमाडौंस्थित टिचिङ अस्पतालमा भइरहेको छ। त्यस्तै, सातजना सुरक्षाकर्मीको उपचार ताप्लेजुङ जिल्ला अस्पतालमा भइरहेको छ।
यस झडपमा दुवै पक्षका गरी ४५ जना घाइते भएका थिए, जसमध्ये अधिकांश प्राथमिक उपचारपछि घर फर्किसकेका छन्।
विवाद थप चर्किंदै जाँदा ‘नो केवलकार’ पक्षधरहरूले आन्दोलनलाई तीव्रता दिने चेतावनी दिएका छन्।
विज्ञप्तिमा बन्द, प्रदर्शन र प्रतिरोधका कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरूले स्थानीय प्रशासन र केवलकार निर्माण कम्पनीविरुद्ध थप कदम चाल्न सकिने जनाएका छन्।
प्रकाशित: १३ माघ २०८१ २२:३३ आइतबार