१५ माघ २०८१ मंगलबार
image/svg+xml
अर्थ

मर्चवार क्षेत्रको ‘सवस्टेसन’ निर्माण तीव्र

रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सवस्टेसन’ को काम ४० प्रतिशत पूरा भएको छ। तीन पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सवस्टेसनको निर्माण सम्पन्न भएपछि क्षेत्रको विद्युत् समस्यामा स्थायी सुधार आउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका इन्जिनियर जगदिशराज बरालका अनुसार महदेई सवस्टेसनको सिभिल संरचनामा ३५ प्रतिशत र विद्युतीकरणमा ४० प्रतिशत काम सम्पन्न भइसकेको छ। परियोजनाको बाँकी काम एक वर्षभित्र पूरा हुने गरी तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए।

निर्माण कम्पनीसँग काम फागुन महिनामा सम्झौता भएको उनले बताए। 'अब केही दिनमै सकिन लागेको सो म्याद पुनः म्याद थप गरेर आगामी एक वर्षभित्र यो परियोजना पूरा गरी सवस्टेसन सञ्चालनमा ल्याउने योजनामा हामी छौँ,' उनले भने। साइटमा माटो परीक्षण, कागजी प्रक्रिया र विभिन्न सामग्रीको अभावका कारण निर्माण कार्यमा केही ढिलाइ भएको बताउँदै प्राधिकरणका इन्जिनियर बरालले भने, 'सवस्टेसन निर्माणका लागि चाहिने अधिकांश सामग्रीको व्यवस्थापन भइसकेर अहिले सबै काम तीव्र गतिमा अघि बढेको छ।'

निर्माण कम्पनीका योजना प्रबन्धक मुकुल सिंहले परियोजनाको डिजाइनमा ढिलाइ भएकाले निर्माण  समयमै पूरा हुन नसकेको बताए। उनले भने, 'डिजाइन प्राप्त भएपछि ४० जनाको टोलीले तीव्र गतिमा काम गर्दै हालसम्म आठ सय ५० वटा विद्युत् पोलको जडानकार्य सम्पन्न गरिसकेको छ।'

उनका अनुसार अबको केही दिनमै पोलमा तार तान्ने काम गरिनेछ। तारपोलको व्यवस्थापन भइसकेपछि ट्रान्सफार्मरको व्यवस्था गरी लो–भोल्टेज र विद्युत् कटौतीको समस्या समाधान हुनेछ। बारम्बार बत्ती जानु र लाइन ट्रिप हुनुका कारण उपभोक्ताका दैनिक गतिविधि प्रभावित हुने गरेको सम्मरीमाई गाउँपालिका–७ का वडाध्यक्ष राधेश्याम कुर्मीले बताए। उनले भने, 'समृद्धिको सम्भावना राख्ने क्षेत्रमा विद्युत्को नयाँ संरचना निर्माण र विस्तारका लागि भइरहेका काम ढिलो हुँदै आएका छन्।'

महदेइमा विद्युत् सवस्टेसनको निर्माणपछि मर्चवार क्षेत्रको तीनवटै गाउँपालिका सम्मरीमाई, कोटहीमाई र मर्चवारीमा विकासको नयाँ अध्ययन सुरु हुने लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बानियाँले बताए। उनले भने, 'यहाँ लो भोल्टेज र अनियमित विद्युत् कटौतीको समस्या विकराल छ।' विद्युत् प्रवाहमा गुणस्तरीय सुधारका लागि सवस्टेसनको गुणस्तरीय निर्माण कार्यलाई तीव्रता दिन निरन्तर अनुगमन गरिरहेको उनले बताए।

प्रकाशित: १४ माघ २०८१ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App