ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई समयानुकूल परिमार्जन गर्ने भएको छ।
गाउँपालिका शिक्षा समिति र पालिकाभरीका विद्यालयहरूको प्रधानाध्यापकको बैठकले स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक समयसापेक्ष संशोधन तथा परिमार्जन गर्ने निर्णय गरेको आठराई त्रिवेणी गाउँपालिकाको शिक्षा शाखाका प्रमुख सुरेशकुमार पुरीले जानकारी दिए। त्यसका लागि पुरीको संयोजकत्वमा समिति बनेको छ। समितिमा गुप्तेश्वर माविका शिक्षक शंकर भट्टराई, शान्ति आधारभूत विद्यालयका प्रअ जीवनकुमार चोङवाङ, सिरिजङ्गा आविका प्रअ बिना आङबुहाङ र परमसिंह देवी माविका प्रअ प्रवीन पोमू सदस्य रहेका छन्।
गाउँपालिकाले अघिल्लो शैक्षिक सत्रदेखि नै कक्षा १ देखि ८ सम्म एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम सुरु गरेको छ। पालिकाले कक्षा १ देखि ८ सम्म पढाइ हुने गरी ‘आठराई त्रिवेणीको सेरोफेरो’ कार्यान्वयनमा ल्याएको हो। गाउँपालिका शिक्षा समितिका अध्यक्ष समेत रहेका पालिका अध्यक्ष दीपेन्द्र (दीपेन) पोमूले पालिका क्षेत्रको रहनसहन, जीवनशैली, दैनिक जीवनमा प्रयोग हुने विषय र सन्दर्भ, पालिकाको वस्तुस्थिति बताउने विषय पाठ्यक्रममा समेटिएको जानकारी दिए।
विद्यालयको आधारभूत तहबाटै पालिकाको विषयमा बालबालिकालाई जानकारी गराई जीवन उपयोगी बनाउन स्थानीय पाठ्यक्रम सुरु गरिएको पालिकाले जनाएको छ। प्रयोगमा ल्याइएको स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई समय सापेक्ष परिमार्जन र संशोधनको आवश्यकता महसुस गरेर त्यसको तयारी गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।
यस्तै पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डकबाट जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट भएका खेलाडीलाई गाउँपालिकाले माघ १५ बाट बन्द प्रशिक्षणमा राख्ने भएको छ। बन्द प्रशिक्षणको समयमा लाग्ने सम्पूर्ण खर्च पालिका आफैंले व्यहोर्ने निर्णय लिएको छ। बन्द प्रशिक्षण अवधिको नेतृत्व चाँगे माविका शिक्षक देवीप्रसाद बरालले गर्नेगरी पालिकाले जिम्मेवारी दिएको छ।
राष्ट्रपति रनिङ शिल्ड सहित समग्र खेलकुदको नेतृत्व पालिकाको सामाजिक विकास समितिका संयोजक एवम् वडा नं २ फुलवारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङले गर्ने भएका छन्। जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ २७ गते देखि मैवाखोला गाउँपालिकाको साँघुमा सञ्चालन हुँदै छ।
पालिकाले पालिकाका भित्रका सामुदायिक विद्यालयहरूको वार्षिक परीक्षा एकरुपताका हिसावले आउँदो चैत १७ देखि २४ गतेसम्म सञ्चालन गर्ने र नतिजा पालिकाभरी एकै दिन चैत ३१ गते प्रकाशन गर्ने निर्णय समेत गरेको छ। पालिका स्तरीय आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा ८) को परिचालन, नियन्त्रण र अन्य कक्षाहरूको वार्षिक परीक्षा सञ्चालनका लागि पालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताको संयोजकत्वमा समिति बनाइएको छ।
समितिमा दुर्गा मावि फुलवारीका शिक्षक देवेन्द्र सुवेदी, सरस्वती मावि हाङपाङका शिक्षक कोपिला रोक्का र चाँगे मावि चाँगेका शिक्षक हेमराज पौडेल सदस्य रहने छन्। गाउँपालिकाको शिक्षा शाखाका प्रमुखलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ। पालिकाले शिक्षकहरूको बिरामी बिदा प्रमाणितसहितका विषय टुङ्ग्याई पालिकाका प्रमुख प्रशासकीय अधिकृत समक्ष अवस्था सिफारिसका लागि पालिकाका प्रशासन शाखाका प्रमुख लीलाराज खड्काको संयोजकत्वमा दुर्गा मावि फुलवारीका प्रधानाध्यापक कुलप्रसाद भट्टराई सदस्य र पालिकाको शिक्षा शाखाका प्रमुख पुरी सदस्य सचिव रहेको समिति बनाएको छ।
प्रकाशित: १४ माघ २०८१ ११:२१ सोमबार