अमेरिकामा चिनियाँ एप टिकटकले मच्चाएको उधुमपछि फेरि अर्को नयाँ एपले उस्तै चर्चा कमाइरहेको छ। सर्वसाधारणमाझ निकै लोकप्रिय च्याटजिपिटीको विकल्पका रूपमा उदाएको एप डिपसिकले अहिले अमेरिकीहरूलाई तर्साउन थालेको छ। च्याटजिपिटी बनाउन अर्बाैं डलर खर्च भएको छ। त्यसमा शक्तिशाली चिपहरूको प्रयोग हुने गरेको छ। डिपसिकमा भने सामान्य चिपहरूको मात्र प्रयोग गरिएको छ भने केही करोडको खर्चमै त्यो तयार भएको छ। यसबाट विश्वमा चिनियाँ कम्पनीहरूको सशक्तता देखिँदै जान थालेको बुझिन्छ।
डिपसिकको काम गर्ने शक्ति संसारका अन्य राम्रा एआई च्याटबटहरूका तुलनामा निकै अगाडि छ। विश्लेषकहरूले संसारका शक्तिशाली १० वटा एआई च्याटबटमा यसलाई पनि गन्न थालेका छन्। गएको जनवरी २० मा डिपसिकले आरवन मोडल जारी गरेको छ। उक्त मोडलले ज्यादै क्लिष्ट किसिमका गणना पनि चाँडै नै गर्ने देखिएको छ। यो पंक्तिकारले पनि विभिन्न च्याटबटको विश्लेषण गर्दा डिपसिकको काम गर्ने शक्ति अन्य धेरैको भन्दा राम्रो पाएको छ।
खासगरी सामान्य प्रश्नको उत्तर डिपसिकले च्याटजिपिटीको हाराहारीमै दिने गरेको छ। एक हिसाबले हेर्दा यो च्याटजिपिटीकै जस्तो नक्कल गर्छ र थोरै सुस्त भने छ तर यसका बाबजुद यसले दिने प्रस्ट उत्तर र जानकारीका मामिलामा धेरैलाई पछि पारिदिएको देखिन्छ।
अहिलेसम्म अमेरिकामा एआई च्याटबट च्याटजिपिटी सबैभन्दा बढी प्रयोगमा थियो। गत साता मात्र बजारमा आएको चिनियाँ च्याटबट डिपसिकले सबैभन्दा बढी डाउनलोड हुने एपका रूपमा आफूलाई दर्ता गरेपछि एआई प्रविधिमा काम गरिरहेका ठुला कम्पनीहरूको सेयर एकाएक घटेको छ।
सबैभन्दा बढी सेयर घट्ने कम्पनीमा एआईका लागि शक्तिशाली चिप बनाउने संस्था एनभिडिया, च्याटजिपिटीमा ठुलो लगानी गरिरहेको माइक्रोसफ्ट तथा फेसबुकको माउ कम्पनी मेटा छन्। एआई कम्पनीहरू स्थापना गर्नु कठिन हुने र तिनमा ठुलो लगानी लाग्ने भ्रमबिच धमाधम लगानी बढाइरहेका ती कम्पनीहरूले अनावश्यक रूपमा आफ्नो बजार मूल्य बढाएको आशंकाका आधारमा तिनको सेयर मूल्य घटेको हो।
डिपसिकलाई चिनियाँ हेजफन्ड म्यानेजर लियाङ वेनफेङले ठुलो लगानी गरेका छन्। डिपसिक बनाउन पाँच करोड ६० लाख डलर मात्र खर्च भएको छ। उता यस्तै किसिमको एआई एन्थ्रोपिक निर्माण गर्न करिब एक अर्ब डलर खर्च गरिएको थियो। डिपसिक निर्माण गर्न ओपन सोर्स प्रयोग गरिएको छ। जबकि अमेरिकी कम्पनीहरूले आफ्ना सोर्स कोडहरूलाई खुला गरिरहेका छैनन्। गएको डिसेम्बरमा डिपसिकको भिथ्री संस्करण बजारमा आउँदा पनि धेरैले गिज्याएका थिए। कुनै पनि राजनीतिक प्रश्न सोध्दा डिपसिकले जबाफ दिन अस्वीकार गथ्र्यो। खासगरी चिनियाँ राजनीति र राष्ट्रपति सी चिन फिङका कुरा आउनेबित्तिकै डिपसिकले यसबारे नबोल्ने भनी प्रतिक्रिया दिन्थ्यो।
यस्तै त्यसले दिने जबाफहरू बेइजिङका अधिकारीहरूले दिने जबाफसँग मिल्दोजुल्दो हुन्थ्यो। जबकि अमेरिकी एआई कम्पनीका जुनसुकै एपहरूले चीनको खुलेर आलोचना गर्छन्। गएको साता युनिभर्सिटी अफ क्यालिफोर्नियाले हालै एउटा च्याटबट एरिना नामक प्लेटफर्म जारी गरेको छ। उक्त प्लेटफर्मले संसारका उम्दा १० एआई एपहरूबारे जानकारी दिन्छ।
च्याटबट एरिनाको सूचीअनुसार सबैभन्दा शक्तिशालीमा गुगलको जेमिनाई रहेको छ। एन्थ्रोपिक कम्पनीको क्लाउड, इलन मस्कको कम्पनी एक्सएआईको ग्रोकभन्दा डिपसिक अगाडि छ। डिपसिकका सञ्चालक ४० वर्षीय लियाङ वेनफेङ हाई–फ्लायर हेजफन्डका संस्थापक र कार्यकारी पनि हुन्। सन् १९८५ मा चीनको ग्वाङदोङमा जन्मिएका उनका पिता त्यहाँका प्राथमिक विद्यालयका शिक्षक थिए।
चीनलाई शक्तिशाली चिपहरू बेच्न प्रतिबन्ध लगाएका बेला कम शक्तिका चिपहरू प्रयोग गरेर यति शक्तिशाली एप बनाउनुलाई लियाङको सफलता मानिएको छ। अहिले डिपसिकलाई स्वयं चीनले बाइटडान्स र अलिबाबा ग्रुपपछिको शक्तिशाली कम्पनी बन्ने आकलन गरेको छ।
केही समयअघि ठुला टेक कम्पनीहरूसँग चिनियाँ प्रधानमन्त्री ली चियाङले भेटेका थिए। जसमा लियाङले पनि एआईका महत्त्वबारे बोलेका थिए। अमेरिकासँग व्यापार युद्ध चर्किंदै गएको अवस्थामा चीनले आफूलाई एआईमा पनि सशक्त बनाउने निर्णय गरेको छ। चाइना इन्टरनेसनल क्यापिटल कर्प नामक सरकारी लगानी कम्पनीले सन् २०३० सम्म एआईको बजार सात खर्ब ६५ अर्ब डलर बराबरको हुने अनुमान गरेको छ।
डिपसिकको सफलतालाई हेर्दै केहीले यसलाई अहिलेसम्मकै सबैभन्दा ठुलो ‘डार्क हर्स’ घोषणा गरेका छन्। अनपेक्षित रूपमा नाम नसुनिएको व्यक्ति वा कम्पनीले सबैलाई पछार्ने वा दौड जित्नेलाई डार्क हर्स भन्ने गरिन्छ। केही वर्षभित्रै ओपनएआईलाई यसले पछि पार्ने आकलन अहिले नै गर्न थालिएको छ। खासगरी पछिल्ला एआई कम्पनीहरूले पैसा बटुल्ने बहानामा अनावश्यक रूपमा शुल्क असुल्ने गर्न थालेपछि डिपसिकतर्फ सर्वसाधारण आकर्षित हुने पनि देखिन्छ।
प्रकाशित: १५ माघ २०८१ ०७:२१ मंगलबार