२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेले भन्योः उपसभामुखको विषय गिजोलियो, अब राफसाफ गर्नुपर्छ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानाको विषय विपक्षी दलबाटै गिजोलिएकाले अब राफसाफ हुनुपर्ने बताएका छन्। आइतबार संसदको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि पत्रकारसँग कुरा गर्दै बर्तौलाले यस्तो बताएका हुन्।

‘झण्डै तीन चार महिनाअघि यो विषय (सभामुखको विवादित पत्रको विषय) उठेको हो, हाउसमा। केही सांसदहरूले संसदमा र राज्यव्यवस्था समितिमा उजुरी प¥यो। हामीले त्यहीँबाट थाहा भयो,’ प्रमुख सचेतक बर्तौलाले भने।

त्यसमा अनधिकृत व्यक्तिलाई अमेरिका लैजान खोजेको, विभिन्न समयमा विदेश जान खोजेका तर नसकेका व्यक्तिलाई अमेरिकाको भिसा दिन उपसभामुख रानाले सिफारिस गरेको ब्यहोरा रहेको उनले बताए। 

‘त्यो उहाँको कमजोरी हो। त्यति बेलै सत्ता घटक दलको बैठकमा यो विषय उठेको हो । तर त्यो दिन उपसभामुख संस्था भएकाले त्यो दिन हामीले धेरै बाहिर भनेनौँ,’ उनले भने,‘अहिले एकाएक रास्वपाकै प्रमुख सचेतकबाट बाहिर ल्याउने र फायर खोल्ने काम भयो। एउटा जिम्मेवार पार्टीबाट उपसभामुख संस्थाको हुर्मत लिने गरी कुनै विषय अगाडि बढाउन खोजिएकै छैन। त्यसका विषयमा जब उहाँले प्रसङ्ग निकालेर उहाँले उचाल्नुभयो र सरकारलाई हिलो छ्याप्नुभयो। प्रधानमन्त्रीतर्फ इङ्गित गरेर खबरदार हामी आन्दोलन गर्छौं भनेर प्रतिवाद गर्नुभो। सिङ्गो प्रतिपक्षी माओवादी केन्द्रबाट पनि कुरा उठेपछि हाम्रो तर्फबाट पनि प्रतिवाद गर्ने काम भयो।’

त्यसो हो भने, अब उपसभामुखले ‘मार्ग प्रशस्त गर्नुपर्छ’ भनेर सत्तापक्षले भनेको प्रमुख सचेतक बर्तौलाले बताए। यो विषय सत्ता पक्षले नउठाएको अवस्थामा विपक्षले उठाएर जनतासम्म पु¥याएकाले अब कमजोरीलाई धेरै ढाकछोप गर्न नसकिने उनले बताए। ‘कमजोरी हो। उहाँहरू रास्वपाले पनि कमजोरी भनेको छ। कमजोरी हो भनेर स्विकार्ने पनि अनि दायाँबायाँ भए प्रतिवाद गर्छु भन्ने रु कमजोरीलाई बोक्न मिल्छ कि मिल्दैन ? अब प्रश्न हो।रास्वपाले संसदमा उहाँले अज्ञानताका कारण कमजोरी गरेको भनेको छ,’ उनले भने।

आफूहरूले बन्द कोठाको छलफलमा कुरा गरेको तर, रास्वपाले नै संसद र बाहिर बोलेपछि यो विषय गिजोलिएको बर्तौलाले दाबी गरे। उनले भने,‘त्यसो भए अब त यो विषय राफसाफ गर्नुपर्छ। रास्वपाले नै गिजोलेका कारण राफसाफ गर्नुपर्ने अवस्थामा पुगेको छ।’ तर यो विषयमा सत्तापक्षबिच खास्सै छलफल नभएको उनले बताए।

प्रकाशित: ३० भाद्र २०८१ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App