२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

पर्यटकीय क्षेत्रका होटल भरिभराउ

थमेलमा आन्तरिक पर्यटक । तस्बिर: रासस

नयाँ वर्षसँगै मुलुकका पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ रहेका छन् । अहिले मेला, महोत्सव, क्रिसमससँगै बिहीबारदेखि अंग्रेजी नयाँ वर्षको रमझम छ । काठमाडौं, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, भैरहवा लगायत मुलुकका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ ।

नयाँ वर्ष मनाउनका आएका पर्यटकले पर्यटकीय क्षेत्रका  होटलहरू भरिभराउ भएका हुन् ।  काठमाडौंको ठमेल, दरबारमार्ग लगायतका क्षेत्र झिलिमिली बनाइएको छ । मलहरू  पनि सजाइएका छन् ।

होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार अहिले विभिन्न ठाउँमा मेला र महोत्सवले गर्दा पर्यटकीय क्षेत्रका होटलमा आन्तरिकलगायत बाह्य पर्यटकको आगमनले गर्दा होटल भरिभराउ छन् ।  

केही दिन अगाडिको भन्दा हिजो/आज पर्यटकको आगमनको संख्या २०/२५ प्रतिशतले बढेको अध्यक्ष चुकेको भनाइ छ । क्रिसमस र अंग्रेजी नयाँ वर्षले गर्दा पर्यटकीय क्षेत्रका होटलहरूमा कोठा पाउनै समस्या भइरहेको उनले बताए ।  

सौराहाको जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार उनको होटल ७० प्रतिशतभन्दा बढी नेपाली पर्यटकले भरिएको छ । उनले भने ‘नयाँ वर्षमा होटलहरूले गर्ने कार्यक्रममा रमाउन पर्यटक आउने गर्दछन् । त्यसैले अहिले होटलहरूमा पर्यटकको चहलपहल निकै बढेको छ ।’  

जेनजी आन्दोलन, मौसमका कारणले जहाज अवतरण र उडानमा अवरोध, सडक मर्मत र विस्तारसमेतले गर्दा पर्यटक घट्छन् कि भन्ने डर लागेको भए पनि गत वर्ष भन्दा अहिलेको अवस्था हेर्दा नयाँ वर्षमा पर्यटकको आगमन राम्रो भएको घिमिरे बताउँछन् ।

प्रकाशित: १६ पुस २०८२ २१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App