नेपाली कांग्रेसको निर्धारित १५ औं महाधिवेशन अन्योलमा परेको छ।
४९ दिनसम्म लम्बिएको केन्द्रीय समितिको बैठकले मंसिर १५ गते पुस २६ देखि २८ सम्म काठमाडौंमा १५ औं महाधिवेशन आयोजना गर्ने निर्णय लिएको थियो।
तर, महाधिवेशनको पूर्वाधार क्रियाशील सदस्यको टुंगो लाग्न नसक्दा बुधबार गर्ने भनिएको वडा अधिवेशन सुरु हुन सकेन।
पूर्वनिर्धारित मितिमा बुधबार वडा अधिवेशन हुन नसेकपछि महाधिवेशनको समग्र कार्यतालिका प्रभावित हुने देखिएको छ।
तर, कांग्रेस केन्द्रीय समितिले महाधिवेशनको पूर्वर्निधारित कार्यतालिका संशोधन वा अधिवेशन स्थगनको सूचना जारी गरेको छैन। यसबाट नेता–कार्यकर्तामा अन्योल बढेको छ।
महामन्त्री गगनकुमार थापाले बुधबार सामाजिक सञ्जालबाट एक सन्देश जारी गर्दै विशेष महाधिवेशन पुसभित्र गर्नुपर्ने विधानको व्यवस्था रहेको बताएका छन्। नियमित सम्भव नभएपछि विशेष महाधिवेशनको विकल्प नभएको थापाले प्रस्ट पारेका छन्।
‘पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासका लागि अनिवार्य बनेको छ,’ थापाले समाजिक सञ्जालमा लेखेका छन्।
राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै हरेक कार्यकर्ताको जिम्मेवारी रहेको जनाउँदै थापाले अगाडि लेखेका छन्, ‘अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौं।’
कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधि वा केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था छ। दुई हजार चार सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन पक्षधर नेताहरूले असोज २९ गते केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन माग गरिएको लिखित निवेदन बुझाएका थिए।
यसैका आधारमा महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले नियमित हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने बताउँदै आएका छन्।
केन्द्रीय समितिको मंसिर १५ गतेको निर्णयअनुसार केन्द्रीय कार्यालयले जिल्ला हुँदै तल्लो तहमा पठाएका ६ लाख थान नयाँ क्रियाशील सदस्यको फाराममध्ये चार लाखमा सिरियल नम्बर थिएन।
यो तथ्य बाहिर आएलगत्तै सिरियल नम्बरबिनाका ती फाराम रद्ध गरेर केन्द्रबाट नयाँ पठाइएको थियो। यो कार्यका लागि बढी समय लागेकाले पूर्वर्निधारित सदस्यता वितरणको कार्यतालिका प्रभावित बन्यो।
केन्द्रीय समिति बैठकले मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्यता फाराम केन्द्रबाट तल्लो तहमा पठाउने र २४ गतेसम्म वडामा पुर्याउने निर्णय गरेको थियो। निर्णयमा पुस ८ गतेभित्र नयाँ क्रियाशील सदस्यता फाराम वितरणको काम सकेर १४ गते केन्द्रीय सभापति/कार्यवाहक सभापतिलाई सूची उपलब्ध गराउने भनिएको थियो।
कांग्रेसले नयाँ क्रियाशील सदस्यताका विषयमा जिल्लास्तरीय प्रारम्भिक छानबिन समिति गठन गर्ने, जिल्लास्तरीय छानबिन समितिले काम सकी पुस १२ गतेभित्र केन्द्रलाई जानकारी पठाउने र विवादसम्बन्धी पुनरावेदनलाई पुस १४ गते टुंगो लगाउने निर्णय पनि गरेको थियो।
कार्यतालिकामा पुस १५ गतेभित्र विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन गरिसक्नुपर्ने उल्लेख छ। पुस १६ गते गाउँ/नगर वडा, १७ गते गाउँपालिका÷नगरपालिका, १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ।
त्यस्तै, एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र भएका जिल्ला र क्षेत्रीय अधिवेशन पुस २१ गते तथा एकभन्दा बढी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा २२ गतेका लागि अधिवेशन गर्ने कार्यतालिका छ।
पुस २३ र २४ गते प्रदेश अधिवेशन गर्ने र २६ देखि २८ गतेसम्म काठमाडौंमा १५औं महाधिवेशन गर्ने कार्यतालिकामा उल्लेख छ।
प्रकाशित: १६ पुस २०८२ २१:५४ बुधबार





