२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

तीन वर्षपछि ओलीको सत्तारोहण, चुनौतीपूर्ण चौथो कार्यकाल

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

यसअघि एमाले अध्यक्ष ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए। जति बेला मुलुकले नयाँ संविधान पाएको थियो र भारतले नाकाबन्दी लगाएको अवस्था थियो। त्यही बेला ओली पहिलो पटक प्रधानमन्त्री भएका थिए।

संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उनले त्यति बेला १० महिना सरकारको नेतृत्व गरे। ३० असार २०७३ मा माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि ओलीले ९ साउनमा सांसदलाई सम्बोधन गर्दै राजीनामा दिएका थिए।

२०७४ मा एमाले–माओवादीसहित वाम गठबन्धन बनाएर ओली चुनावमा होमिएका थिए। करिब दुई तिहाइ नजिकको बहुमत ल्याएर ओली दोस्रो पटक ३ फागुन २०७४ मा प्रधानमन्त्रीमा नियुक्त भए। त्यति बेला ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबिच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो । त्यो सहमति कार्यान्वयन हुनुअघि ०७५ जेठमा एमाले र माओवादीबिच एकता भयो। त्यसपछि दुई पार्टी मिलेर नेकपा गठन भयो।

तर, आलोपालोको सहमति कार्यान्वयन भएन। त्यसपछि दाहाल प्रधानमन्त्री सम्भावना निकै कमजोर बन्दै गयो र नेकपाभित्रको विवाद चुलियो। पार्टीभित्र कमजोर बनेपछि ओलीले ५ पुस ०७७ मा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरे। तर, सर्वोच्च अदालतले पूर्ववत् संसद व्यूताइ दियो। त्यसपछि माओवादीले समर्थन फिर्ता लियो र ओली सरकारले २७ वैशाख ०७८ मा सदनमा विश्वासको मत गुमायो।

दोस्रो पटक ओलीले तीन वर्ष तीन महिना सरकार चलाए। ओली सरकार ढलेपछि तत्कालीन राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गरेकी थिइन्। त्यसका लागि ३० वैशाख ०७८ मा राती ९ बजेसम्मका लागि समय दिइएको थियो। तर, कुनै पनि दलले बहुमत पु¥याउन नसकेको भन्दै राष्ट्रपतिले ओलीलाई नै ठुला दलको नेताका रुपमा अल्पमतको प्रधानमन्त्री नियुक्त गरिन्।

यद्यपि, त्यतिखेर कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए। तेस्रो पटक नियुक्त भएका प्रधानमन्त्री ओलीले ८ जेठ ०७८ मा फेरि प्रतिनिधिसभा विघटन गरिदिए। त्यस विरुद्ध पनि सर्वोच्च अदालतमा मुद्दा प¥यो। २८ असार ०७८ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुका साथै देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने परमादेश जारी ग¥यो। ओली त्यतिखेर दुई महिना प्रधानमन्त्री भएका थिए।

प्रधानमन्त्री नियुक्तिअघि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आइतबार ५ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए। त्यस लगत्तै एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित सरकारलाई समर्थन गर्ने दलका नेताहरू दाबी पत्र लिएर राष्ट्रपति कार्यालय पुगेका थिए।

राती सवा ९ बजे राष्ट्रपति कार्यालयमा ओलीले दाव पत्र पेस गरेका थिए। नेपाली कांग्रेसका सभापति देउवा र ओलीको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी पेस गरिएको थियो। संख्या उल्लेख नगरी संसदीय दलको नेताको रुपमा देउवा र ओलीले राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका थिए। कांग्रेसका ८८ र एमालेका ७७ जना सांसदको समर्थन रहेको दाबी पत्रमा उल्लेख थियो। सोही आधारमा राष्ट्रपति पौडेलले ओलीलाई चौथो पटक प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन्।

संविधान संशोधन र राष्ट्रिय सहमतिको सरकार गठनको मुख्य उद्देश्य बोकेर सरकारको नेतृत्व गर्न पुगेका ओलीका लागि यो कार्यकाल सहज भने छैन। सबै दललाई लिएर राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्नु उनका लागि फलामको चिउरासरह हुनेछ । 

नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी

ओलीको संक्षिप्त जीवनी ११ फागुन २००८ मा इवा–२ तेह्रथुममा जन्मिएका ७१ वर्षीय ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । पिता मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट जन्मिएका ओलीले डेढ वर्ष उमेरमै आमाको काख गुमाएका थिए । 

ओली परिवारपछि शरणामती–६, झापामा बसाइँ सरेको थियो । झापाको चारपानेस्थित रामनाथ दाहालको घरमा बसेर गरिबी र अभावसँग जुध्दै उनले प्रवेशिका सम्मको अध्ययन पूरा गरेका थिए । मार्क्सवादी चेतका दाहालसँगको संंगतबाट २०२३ सालमै मार्क्सवादी अध्ययन दलमा आबद्ध भई ओली विद्यार्थी आन्दोलनमा होमिएका थिए । 

गरिब परिवार र आमाको वात्सल्यसमेत गुम्न पुगेकाले बाल्यकाल यिनको अत्यन्त दुःखपूर्ण रूपले बितेको थियो । १४ वर्ष लामो कष्ट साध्य जेलनेल भोगेका नेता ओलीको राजनीतिक यात्रा झापाबाटै सुरु भएको हो । चर्चित झापा विद्रोहका एक मुख्य नेता ओली विद्रोहकालीनमध्येका एक जीवित नेता हुन् । २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा ओली निर्वाचित भएका थिए । 

वि.सं. २०५१ देखि २०५२ सम्म गृहमन्त्रीका रुपमा ओलीले पहिलो पटक राजकीय मामिलाको जिम्मेवारी सम्हालेका थिए । ०६४ देखि ०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री भएका थिए भने ०७०, ०७४ र ०७४ को निर्वाचनमा पनि उनी सांसदमा निर्वाचित भए । नेकपा एमालेको प्रतिनिधित्व गर्दै वि सं २०७२ असोज २४ गते नेपालको ३८ औँ प्रधानमन्त्रीको रूपमा पहिलो पटक ओली प्रधानमन्त्री बनेका थिए । 

तत्कालीन नेकपा (माले) स्थापना कालीन नेता ओली २०२२ सालमा कम्युनिस्ट राजनीतिमा लागेका थिए । २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी २०२८ सालको झापा आन्दोलनका प्रमुखहरू मध्येका एक थिए । सोही वर्ष उनी जेलसमेत परेका थिए । पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका पात्र हुन् । 

जेल जीवनबाट छुटेपछि केन्द्रीय कमिटी सदस्य भएका उनी पार्टीको नवौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । दश वर्षयता ओली लगातार दोस्रो कार्यकाल अध्यक्ष छन् । बुर्जुवा शिक्षाको विरोध भन्दै शैक्षिक प्रमाणपत्र च्यात्ने समूहका सदस्य ओलीको शैक्षिक डिग्री कमजोर छ । 

झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमै पूरा गरेका थिए भने झापाको आदर्श माध्यमिक विद्यालयबाट २०२८ सालमा उनले प्रवेशिका परीक्षा (एसएलसी) पास गरेका हुन् । 

राम्रो अङ्ग्रेजी बोल्ने ओलीले जेलमै ‘डिक्सनरी’ रटेका थिए । उनी भाषण गर्दा उखान टुक्कालाई प्रयोग गरेर हाँस्यरस मिसाउन सक्ने क्षमता राख्छन् । जेल जीवनबाटै उनले अध्ययनलाई फराकिलो बनाएका थिए ।

प्रकाशित: ३० असार २०८१ १८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App