३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

तीज: मधेसीको पनि, मुस्लिमको पनि!

दक्षिणी भेगमा पहाडीभन्दा मधेसी महिलाको सहभागिता बढी

हरितालिका तीजका अवसरमा आयोजित कार्यक्रममा नाच्दै महिला।

केही वर्षयता तराई-मधेसमा समेत हरितालिका तीज साझा र समावेशी पर्वका रूपमा बदलिएको छ। पहाडी समुदायले मनाउने मान्यतालाई तोड्दै यहाँका मधेसी, जनजाति, मुस्लिम र दलित समुदायका महिलाले तीज रमाइलो गरी मनाउन थालेका छन्।

हिन्दु पहाडी समाजले मनाउने तीज तराई र मधेसका मधेसी, जनजाति र दलित महिलाले समेत रमाइलो गरी मनाएका छन्। मधेसी समुदायको बाहुल्य रहेको दक्षिणी पालिकाहरूमा समेत विगत दुई सातायता तीजको रौनक देखिएको छ। पालिका र वडाहरूले समेत तीजको शुभकामना र दर खाने कार्यक्रम राखेका छन्।

कपिलवस्तु नगरपालिका– १ का अध्यक्ष जाहिद खाँले तीजका अवसरमा तौलिहवामा राखेको कार्यक्रममा मुस्लिम, हिन्दु र जनजाति समुदायसमेत सरिक भएको बताए। उनले केही वर्षयता तराई–मधेसमा तीजको रौनक बढेको बताए।

तौलिहवामा लायन्स क्लब अफ प्राचीन कपिलस्तुले बुधबार बन्धन म्यारिज हलमा राखेको तीज शुभकामना आदानप्रदान कार्यक्रममा कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ता कम्मर मर्काइमर्काई नाचिन्। उनले केही वर्षयता तीज समावेशी पर्व बन्दै गएको बताइन्।

केही वर्षअघिसम्म पहाडी मूलका महिलाले मात्र मनाउने गरिएको तीज अहिले मुस्लिम, जनजाति र मधेसीले समेत मनाउन थालेको उनले बताइन्। ‘जिल्लाको दक्षिणी भेगमा तीजको कुनै रौनक हुन्थेन, तर केही वर्षयता तीजमा मधेसी मुस्लिम दलितहरूले समेत मनाउन थालेका छन्’, उनले भनिन्, ‘कुनै विशेष वर्गको मात्र चाड मानिएको तीज अहिले समावेशी पर्व बन्न पुगेको छ।’

कपिलवस्तु नगरपालिका–३ गौढी चोककी कनिज फातमा आफू तौलिहवाका विभिन्न स्थानमा हरितालिका तीजमा सरिक भएको बताइन्। सामूहिक दर खाई कम्मर मर्काइमर्काई नाचेको समेत उनले बताइन्। उनी एक सातायता तीज कार्यक्रममा सरिक हुँदै आएकी छन्।

सामूहिक दर खाने कार्यक्रममा सरिक हुँदै आएकी एकल महिला फातमाले आफूले निकै रमाइलो गरी तीज मनाएको बताइन्। आफू मुस्लिम समुदायको भए पनि सबै मिलेर तीजमा रमाइलो गर्न पाउँदा निकै खुसी लागेको उनले बताइन्। ‘तीज हिन्दुहरूको मात्र होइन, सबै महिलाको चाड हो, यसमा रमाउनुपर्छ’, उनले भनिन्।

पहाडी समुदायको बाहुल्य रहेको उत्तरी भेगमा सीमित तीज जिल्लाको दक्षिणी भेगमा समेत गुन्जिन थालेको लायन्स क्लब अफ प्राचीन कपिलवस्तुका अध्यक्ष सन्तोष कसौधनले बताए।

उनले वडा कार्यालय नगरपालिका होटल पार्टी प्यालेसमा समेत तीज गीत गुन्जिने गरेको बताए। आफ्नो संस्थाले राखेको कार्यक्रममा पहाडीभन्दा मधेसी समुदायका महिलाको बढी सहभागिता रहेको उनले बताए। सदरमुकाम तौलिहवामा मात्र विभिन्न गैरसरकारी संस्था र महिला अगुवाहरूले एक दर्जन बढी सामूहिक दर खाने कार्यक्रम राखेका छन्।

तीज तराई–मधेसमा साझा र सद्भावको पर्वका रूपमा विकास हुँदै आएको मानव अधिकारकर्मी रवि ठाकुरले बताए। ‘तीज समावेशी पर्व बन्दै गएको छ, जसले गर्दा सामाजिक सद्भावसमेत बढेको छ’, उनले भने।

 उनका अनुसार दक्षिणी भेगमा तीजको रौनक बढ्नु निकै राम्रो पक्ष हो। तीज कार्यक्रममा हरेक समुदायका महिलाको सहभागिता बढ्दै जानुलाई सकारात्मक रूपमा लिनुपर्छ।

प्रकाशित: २१ भाद्र २०८१ १०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App