राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले पुराना दलहरूबाट देश विकास सम्भव नभएको बताउँदै जनताको भरोसा र अपेक्षा रास्वपाले मात्र पूरा गर्ने दाबी गरेकी छन्।
शनिबार फुङलिङमा आयोजित रास्वपा ताप्लेजुङको पहिलो जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृ कार्कीले पुराना भनिने दलहरूलाई भ्रष्ट, ठग, र दलालहरूको दलदलमा फसेको आरोप लगाइन्।
देशको समृद्धि र विकासका लागि पुराना दलहरू असफल साबित भएकाले रास्वपा जनताको आस्थाको केन्द्र बन्दै गएको उनको तर्क थियो।
कार्कीले रास्वपाले समाजले खोजेको फरक दृष्टिकोण प्रस्तुत गरेको बताउँदै ‘गाली गरेर होइन, कामले ताली पाउने’ नीति अपनाएको दाबी गरिन्। पुराना दलहरूप्रति जनताको विश्वास गुमिसकेको र रास्वपा नै देशको वैकल्पिक शक्ति भएको भन्दै उनले पार्टीप्रति जनताको आशा झन् व्यापक हुँदै गएको उल्लेख गरिन्।
पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोधपूर्वक बदनाम गर्ने प्रयास भएकोमा दुःख व्यक्त गर्दै, कार्कीले रास्वपाले जनताको भरोसा कायम राख्दै जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
भेलामा पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईं, कोशी प्रदेशका महामन्त्री लालविक्रम थापा लगायत नेताहरू सहभागी थिए। ताप्लेजुङको पार्टी गतिविधिको संयोजन गर्ने जिम्मेवारी नेतृ कार्कीसँग रहेको छ।
रास्वपाका जिल्ला संयोजक वीरेन्द्र श्रेष्ठका अनुसार भेलाले जिल्लाका नेताहरूको जिम्मेवारी तोक्ने निर्णय लिएको छ। यसअघि रास्वपाले फुङलिङ बजारमा प्रदर्शनसमेत गरेको थियो।
प्रकाशित: २९ मंसिर २०८१ १७:३९ शनिबार