३० मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रचण्ड भ्रष्टाचारीका संरक्षक हुन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कडा आरोप लगाउँदै ‘नराम्रा कामहरुको नेतृत्व प्रचण्डले गरिरहेका छन्’ भन्ने अभिव्यक्ति दिएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका कारण देशमा ‘जाली, फटाहा र बेइमानी’ को सुरुवात भएको बताए। उनले माओवादीले मान्छेहरूलाई दुःख दिने र कुप्रचार गर्ने काममा नेतृत्व गरिरहेको आरोप लगाए।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई एमाले र आफ्ना विरुद्ध झुटा भ्रम फिँजाएको आरोप लगाउँदै भने, ‘म शिवजीले विष सेवन गरेजस्तै भ्रम सहन गरेर बसेको छु। तर, झुटको खण्डन गर्दै सत्यलाई अघि बढाउनेछु।’

माओवादी केन्द्रलाई एमालेको लोकप्रियता र आफ्नो नेतृत्वप्रति जनताको समर्थनले पिर परेको टिप्पणी गर्दै उनले भने, ‘माओवादी जुन दिन देशमा पलायो, त्यही दिनबाट बेइमानी र कुप्रचारको सुरुवात भयो। यिनीहरूको गिरोह मेरो विरुद्ध सक्रिय छ।’

प्रधानमन्त्री ओलीले देशमा कानुनी शासनको स्थापनाका लागि प्रतिबद्ध रहेको बताउँदै भ्रष्टाचारको अन्त्य गरिने दाबी गरे। उनले कुनै पनि भ्रष्टाचारीले झुट, बेइमानी वा अन्य गैर कानुनी बाटोबाट उम्किन नपाउने चेतावनी दिए। उनले थपे, ‘भ्रष्टाचार गर्ने जो कोही भए पनि मुख नहेरी कारबाही हुनेछ।’

प्रधानमन्त्री ओलीको तीव्र आलोचना र प्रचण्डमाथिको आरोपले राजनीतिक वृत्तमा थप तातो बहसको सुरुवात गरेको छ।

प्रकाशित: २८ मंसिर २०८१ १७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App