३० मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

अहिलेको तरिकाले एमाले राष्ट्रिय शक्ति बन्न गाह्रो छ : महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी जीवनमा समस्या देखिएको बताएका छन्।  

शनिबार, ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय सङ्गठन विभागको आयोजनामा ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने कार्यशालाको उद्घाटन गर्दै उनले पार्टीको नीति जनतासम्म पुर्याउन तथा वैचारिक राजनीतिक सङ्घर्षमा जनतासँग संवाद गर्नुपर्ने पक्षमा कमी रहेको बताएका हुन्।  

अहिले पार्टीको जुन ढङ्गले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने महासचिव पोखरेलको भनाई रहेको थियो। उनले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणामले विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको स्पष्ट पारेका छन्।  

महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनिधिले पार्टी निर्माणमा सहयोग गर्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्ने खालका हुनुपर्ने जिकिर गरे। उनले पार्टीको वार्षिक कार्ययोजनाका बारेमा अभिमुखीकरण गर्दै पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने आधारहरू र सम्पादित कामका बारेमा सहभागीको ध्यानाकर्षण गराए।  

महासचिव पोखरेलले मिसन–२०८४ मा आधारित वार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट पार्टीलाई नभएको उनको भनाई छ। यस सन्दर्भमा पार्टी सदस्यता नवीकरण सर्वाधिक महत्त्वपूर्ण काम भएको भन्दै महासचिव पोखरेलले पार्टी कमिटीले युवा तथा महिलाको क्षेत्रमा विशेष महत्त्वका साथ काम नगरेको आरोप पनि लगाए।  

पार्टी सदस्यलाई केन्द्रीय स्कुल विभागले मात्र प्रशिक्षण दिएर सम्भव नहुने भन्दै पोखरेलले माध्यमिक र आधारभूत तहको प्रशिक्षणको काम प्रदेश र जिल्ला कमिटीले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।  

महासचिव पोखरेलले पार्टी र पार्टी नेतृत्वविरूद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरूद्ध पार्टीपङ्क्ति खरो रूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भएको बताए। महासचिव पोखरेलले मुलुकमा देखिएको निराशालाई चिर्न राजनीतिक स्थायित्व आवश्यक रहेको हुँदा निर्वाचनबाट बलियो शक्ति स्थापना गरेर त्यसकै जगमा स्थिर सरकार निर्माण गर्नुपर्ने स्पष्ट पारेका छन्। रासस

प्रकाशित: २९ मंसिर २०८१ २०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App